काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, दुवै पक्षका गरी चार जना घाइते

खार्पुनाथ गाउँपालिका-१ मा काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति भएको झडपमा दुवै पक्षका गरी चार जना घाइते भएका छन् ।

घाइते हुनेमा खार्पुनाथ गाउँपालिका-१ का वाम गठबन्धनका कार्यकर्ता ३० वर्षीय दिपबहादुर शाही, सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू २७ वर्षीय मानबहादुर शाही, ४५ वर्षीय विर्जन शाही र ३६ वर्षीय पदम शाही रहेका छन् ।

वाम गठबन्धनका कार्यकर्ता दिपबहादुर शाहीलाई सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ता मानबहादुर शाहीले मङ्सिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्छ भनेपछि दुई पक्षबिच झडप भएको दिपबहादुर शाहीकी पत्नी झुपा शाहीले आरोप लगाइन् ।

झडपमा वाम गठबन्धनका कार्यकर्ताले बन्दुकको गोली प्रहार गरेको काङ्ग्रेसका पार्टी सभापति जयपति रोकायले आरोप लगाए । गोलीबाट कसैलाई चोट नलागेको उनको भनाई छ । ढुङ्गा प्रहारबाट घाइते भएका व्यक्तिहरूको उपचार लाली स्वास्थ्य चौकीमा भइरहेको छ ।

काङ्ग्रेस कार्यकर्ताले मङ्सिर ८ गते राति मतदातासँग छलफल गरी घर जाने क्रममा बाहिरबाट वाम गठबन्धनका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दुवै पक्षका कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी कमलप्रसाद नेपालले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नेपालका अनुसार "झडप हुनुको मुख्य कारण मदिरा सेवन हो ।" सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा प्रहरी टोली परिचालन गरेको जनाएपनि मङ्सिर ९ गते दिउँसोसम्म प्रहरी घटनास्थलमा नपुगेको स्थानीयबासीले जानकारी दिए । मौन अवधिमा प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख भएको भएपनि आचारसंहिता विपरीत मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।


नन्द सिंह