काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, माओवादी केन्द्रकी एक कार्यकर्ता घाइते

नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा मङ्सिर ७ गते भएको चुनावी सभावाट घर फर्कँदै गरेका तरूण दलका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सानीभेरी गाउँपालिका-७ सहरेमा भएको झडपमा सानीभेरी गाउँपालिका-७ निवासी माओवादी केन्द्रकी कार्यकर्ता ३५ वर्षीया कमला बुढा घाइते भएकी छन् ।

खलङ्गामा भएको काङ्ग्रेसको चुनावी सभाबाट चौरजहारी जान लागेको गाडीलाई सहरेमा मदिरा सेवन गरेका एक व्यक्तिले अवरोध गर्न खोज्दा झडप सुरू भएको प्रहरीले जनायो । सो व्यक्तिलाई गाडीमा गएका तरुण दलका कार्यकर्ताले हटाउन खोज्दा स्थानीय जम्मा भएर गाडी तोडफोड गर्न थालेपछि झडपले ठूलो रूप लिएको बताइएको छ ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का इन्स्पेक्टर ऋषिकुमार ढुङ्गानाले जानकारी दिए । उनीहरू त्यसमा संलग्न भए नभएको एकीन नभएकोले उनीहरूको नाम बताउन नसकिने इन्स्पेक्टर ढुङ्गानाले बताए । जुन पक्षका भएपनि दोषी व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

खलङ्गाबाट घर फर्कदैँ गर्दा तरूण दलका कार्यकर्ताले घरमै बसेकी बुढामाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । सानीभेरी गाँउपालिकाका अध्यक्ष नरबहादुर पुनका अनुसार वडाअध्यक्ष कुलबहादुर बुढामाथि कुटपिट गर्ने उद्धेश्यले त्यहाँ पुगेका काङ्ग्रेस कार्यकर्ताले बुढालाई नभेटेपछि उनकी पत्नी कल्पनामाथि कुटपिट गरेका हुन् ।

गम्भीर घाइते भएकी कमलाको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको बताइएको छ ।

घटना राजनीतिक प्रतिशोध लिएर गरिएको भन्दै कुटपिटको घटनाप्रति माओवादी केन्द्रले विरोध जनाएको छ । सो पार्टीका जिल्ला इञ्चार्ज राजकुमार शर्माले राजनीतिक प्रतिस्पर्धाबाट डराएर काङ्ग्रेसीहरू अपराधिक क्रियाकलापमा उत्रिएको बताए ।

उनले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारबाही गर्नसमेत स्थानीय प्रशासनसँग माग गरेका छन् । नेपाली काङ्ग्रेस रूकुमले भने आफ्नो चुनावी प्रचारप्रसारको गाडीलाई माओवादीले अवरोध गर्न खोजेपछि झडप भएको र झडपमा परेर बुढा घाइते भएको प्रतिक्रिया दिएको छ ।


मनिषा केसी