काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते

सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली काङ्ग्रेस निकट तरुण दलका कार्यकर्ता ३० वर्षीय रेशम बुढाथोकी र माओवादी केन्द्रका कार्यकर्ता सिस्ने शिक्षा क्याम्पसका स्ववियु सभापति २५ वर्षीय श्रीकुमार बुढाथोकी रहेका छन् ।

दाहिने हात भाँचिएर घाइते भएका रेशमलाई थप उपचारका लागि असार १३ गते नेपालगञ्ज 'रिफर' गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङ्गुर जिसीले बताए ।

टाउकोमा चोट लागेका श्रीकुमारको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । माओवादीका कार्यकर्ताले फलामको रड, लाठी र काङ्ग्रेसका कार्यकर्ताले वियरका बोतल प्रहार गरेको स्थानीयबासीले बताए ।


आदर्श केसी