काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले कार्यकर्ता अपहरणमा

  ०७४ वैशाख ३० गते

तामाकोशी गाउँपालिका-६ च्यामामा चुनाव चिन्हका बारेमा मतदातालाई सिकाउँदै हिड्ने क्रममा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ ।

च्यामा पोखरेस्थित काङ्ग्रेस कार्यकर्ता पवनराज खड्काको घर नजिक झडप हुँदा काङ्ग्रेसका कार्यकर्ताले सोही गाउँपालिकाका एमाले उपाध्यक्षका उम्मेदवार उर्मिला केसीका पति शान्त केसीलाई अपहरण गरी लुकाएकोमा वैशाख ३० गते मुक्त गरेका छन् ।

झडपमा काङ्ग्रेसका कार्यकर्ता श्यामबहादुर प्रधान घाइते भएका छन् । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरी र राजनीतिक दलहरूबिच वैशाख ३० गते भएको छलफलपछि उनलाई मुक्त गरेको स्थानीय देवी शर्माले जानकारी दिइन् ।

त्यसैगरी तामाकोशी गाउँपालिका-४ मालु डाडागाउँमा दुई ओटा बोलेरो सहित आएका काङ्ग्रेसका कार्यकर्ता र स्थानीय एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ । झडपमा बोलेरो जिपको झ्यालका सिसा फुटेर क्षति भएको छ ।

यसैबीच तामाकोशी गाउँपालिका-२ का एमाले दलित तर्फा वडा सदस्यकी उम्मेदवार ४१ वर्षीया प्रेमिका नेपालीको घरमा वैशाख २९ गते साँझ करि ८ बजेतिर काङ्ग्रेसका कार्यकर्ता नानीबाबु तामाङको नेतृत्वमा आएको समूहले ढुङ्गामूढा गरेको छ । साथै उनीहरूले सोही ठाउँका मानेडाडा प्राविमासमेत तोडफोड गरेको स्थानीयले बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय दोलखाको प्राङ्गणबाट प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ ।

उनीहरूलाई मेलु गाउँपालिका-२ का ३३ वर्षीय प्रेमकुमार लामा र सोही ठाउँका २१ वर्षीय अभिनास गोलेलाई 'मानव अधिकारकर्मी हौँ' भनेर सवारी पास लिन गएको बेला प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।


उद्धव पोखरेल