काङ्ग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका वडाध्यक्ष उम्मेदवार घाइते

दिप्रुङ गाउँपालिका-३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङलाई नेपाली काङ्ग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादका क्रममा तरुण दलका क्षेत्रीय सभापति सुरेश साईको नेतृत्वमा काङ्ग्रेसका कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ ।

चुनाव प्रचारप्रसार र घरदैलोका क्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा जेठ २६ गते लाठीमुङ्ग्रोसहित आएका काङ्ग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमाले खोटाङका उपाध्यक्ष रामप्रसाद दङ्गालले बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि जेठ २६ गते राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । तामाङको टाउकोमा गहिरो चोट लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए ।

एक स्थानीयको घरमा राखेको काङ्ग्रेसको झण्डा एमाले कार्याकर्ताले च्यातेर आफ्नै झण्डा राखेको आरोपमा उत्पन्न विवादका क्रममा झडप भएको काङ्ग्रेस क्षेत्र नम्बर-२ का उपसभापति चण्डी राईले बताए ।

झडपमा तरुण दलका क्षेत्रीय सभापति सुरेश राई, सुवास राईलगायतका कार्यकर्ता सामान्य घाइते भएको उनले जानकारी दिए । एमालेका कार्यकर्ता बिनोद तामाङ, मनोज राईलगायत पनि सामान्य घाइते भएका छन् ।


सुनिता मगर