काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमालेका कार्यकर्ता घाइते

गौमुल गाउँपालिका-५ नख्राडामा नेपाली काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ जना एमाले कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा दुई जना महिला र चार जना पुरूष छन् ।

जेठ २९ गते भएको उक्त घटनामा एमाले कार्यकर्ता पारस रोकाया, टङ्क रोकाया, सन्तोष रोकाया, सुभाष रोकायालगायत घाइते भएका छन् । तीमध्ये सन्तोष रोकायाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

रोकायालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । खुकुरी प्रहारले टाउकामा गम्भीर चोट लागेकोले रिफर गरिएको उपचारमा संलग्न डाक्टर रोहित गिरीले बताए ।

घाइते भएका सुशीला रोकाया र एक जना नाम नखुलेकी महिलालाई बोकेर मार्तडी ल्याउँदै गरिएको आफन्तले बताए । प्रहरीले भने तीन जना घाइते भएको जनाएको छ । एक जनालाई रिफर गरिएको र अरू दुई जनालाई ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीले जानकारी दिए ।

गौमुल गाउँपालिका-५ का काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धनबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले एमाले कार्यकर्तामाथि आक्रमण गरेको गाउँपालिकाका अध्यक्ष पदका एमाले उम्मेदवार हरि रोकायाले बताए ।

दिउँसो स्थानीय प्रकाश रोकायाको हातको माइक खोसेर तोडफोडसहित कुटपिट गरेको र राति एमालेबाट वडा अध्यक्षका उम्मेदवारको घर घेरेपछि विवाद भएको बताइएको छ । घर घेरेको खबर पछि अवस्था बुझन गएका सात जना एमाले कार्यकर्तालाई एकाएक आक्रमण गरिएको एमालेले दावी गरेको छ ।

५० जना भन्दा बढीको सङ्ख्यामा रहेका काङ्ग्रेस कार्यकर्ताले गणेश रोकायाको घर घरेका थिए । रोकायाले लगत्तै मानाकोट गाउँमा खबर गरी बचाउन आग्रह गरेलगत्तै मानाकोट गाउँबाट सात जना कार्यकर्ता गएको र घर नजिक नपुग्दै आक्रमण भएको बुझिएको छ ।

खुकुरी सहित काङ्ग्रेसका तर्फबाट कृष्ण रोकाया, लोकेन्द्र रोकायालगायतले आक्रमण गरेका हुन् । गौमुल गाउँपालिका काङ्ग्रेस तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर रोकायाले भने आपसी विवादलाई राजनीतिक रङ दिन नहुने बताए । प्रचारमा एमाले कार्यकर्ताले आफूहरूलाई अवरोध गर्ने गरेको रोकायाको गुनासो छ । दुवै पक्षगरी ४८ जनाको नाममा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दलबहादुर बोगटीले बताए ।


पदम सिंह