काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता खार्पुनाथ गाउँपालिका-४ का ३४ वर्षीय गोरासिंह रावललाई स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई मतदान नगरेको आरोपमा जेठ २१ गते सोही ठाउँका काङ्ग्रेसका कार्यकर्ता ३५ वर्षीय गोपाल रावत, बादुरे रावल र धनजय रावलले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

टाउकोमा चोट लागेका घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । काङ्ग्रेस पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा कुटपिट गरेको घाइतेकी पत्नी डोल्मा रावलले आरोप लगाइन् ।

घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै पीडितकी पत्नी डोल्मा रावलले याङ्चु प्रहरी चौकीमा जेठ २१ गते उजुरी दिएकी छन् ।

उजुरीपछि दुवै पक्षको उपस्थितिमा छलफल गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए ।


नन्द सिंह