काङ्ग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँडेको एमालेको आरोप

छेडागाड नपा-१ मनघाटमा नेपाली काङ्ग्रेसका वडा सदस्यका उम्मेदवार प्रेमबहादुर बस्नेतले वैशाख २५ गते साँझ मतदातलाई पैसा बाँडेको एमालेले आरोप लगाएको छ ।

एमाले समर्थक महिलाहरूले उम्मेदवार बस्नेतले मतदातालाई रुपियाँ बाँडिरहेको देखेपछि ९० हजार रुपियाँसहित बस्नेतलाई निर्वाचन अधिकृतको कार्यालय छेडागाडमा बुझाएको एमालेका जिल्ला अध्यक्ष करविर शाहीले बताए ।

काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष तेजविक्रम शाहले यस विषयमा जिल्ला समितिमा कुनै जानकरी नआएको बताए । एमालेका केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभाव पार्ने गरी जनतालाई किन्न पैसा बाँडेको विषयमा कारबाही हुनु पर्ने माग गरे ।

निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २६ गते एमाले र काङ्ग्रेसका उम्मेदवारबिच भएको छलफलमा अबदेखि मतदातालाई रुपियाँ नबाँडने तथा उक्त रुपियाँ राष्ट्रिय कोषमा राख्ने सहमतिमा दुबै पक्षबिच मिलापत्र भएको मुख्य निर्वाचन अधिकृत निलाराज अधिकारीले बताए ।

यसैगरी निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्री लिएर मतदानका लागि खटिएका कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरीसमेतको टोली वैशाख २६ गते सदरमुकामबाट आ-आफ्नो मतदान केन्द्रतर्फप्रस्थान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।


दिनेश श्रेष्ठ