कर्मचारी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

ललितपुर जिल्ला अदालतमा ३२ वर्षीया नायब सुब्बा प्रेमिका तामाङलाई काठमाडौँ महानगरपालिका-१४, कलङ्कीका ३६ वर्षीय अमिर लामिछानेले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ०८० असार १५ गते गिरफ्तार गरेको छ ।

अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा असार १३ गते आफूमाथि अधिवक्ता लामिछानेले हातपात गर्नुका साथै दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।

आफूमाथि कार्यालय पोसाकमा कार्यालयमै बसेर काम गरिरहेको समयमा आक्रमण भएको भन्दै पीडितले असार १५ गते जिल्ला प्रहरी परिसरमा उजुरी दिनुभएको थियो ।

मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि पीडित तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा आफूमाथि हातपात भएको उल्लेख गर्दै मुक्का प्रहारबाट दुई ओटा दाँत हल्लिनुका साथै ओँठमा चोट लागेको बताउनु भयो ।

त्यसैगरी आरोपित लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ ।

महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई गिरफ्तार गरे पनि असार १५ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नवराज कार्कीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १३ गते पाटन अस्पतालमा भएर सोही दिन डिस्चार्ज भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे