कर्मचारी आन्दोलनमा प्रहरी हस्तक्षेप, दुई जना घाइते

स्थानीय निकायका कर्मचारीहरूले गर्दै आएको आन्दोलनका क्रममा फागुन ३ गते जिल्ला विकास समितिको कार्यालयमा प्रहरीले गरेको हस्तक्षेपका काराण तीन जना घाइते भएका छन् ।

शान्तिपूर्ण रूपमा धर्नामा बसेका बेला एक्कासी प्रहरीले हस्तक्षेप गर्दा शारदा नपा-३ तल्लोबजारकी ४२ वर्षीया बिन्दु श्रेष्ठ, सोही ठाउँकी ३६ वर्षीया अमृता शाक्य घाइते भएको स्थानीय निकाय संयुक्त टे्रड युनियन आन्दोलन परिचालन जिल्ला समन्वय समितिका सचिव जिवराज केसीले बताए ।

घाइतेहरूको टाउको र हातमा चोट लागेकोले स्थानीय मेडिकलमा उपचार भएको संयुक्त ट्रेड यूनियनले जनाएको छ । आफ्ना माग पुरा हुनुपर्ने भन्दै स्थानीय निकायका कर्मचारीहरूले माघ २४ गतेबाट आ-आफ्नो कार्यालय अगाडि शान्तिपूर्ण रूपमा आन्दोलन गरेको केसीले बताए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले जिविसमा लगाएको ताला खोल्दा कुनै धरपकड नभएको बताए । उनले जिविसमा लगाएको ताला खोल्दा कसैलाई पनि चोट पटक नलागेको दावी गरे ।

स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वय समिति सल्यानले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले कार्यालयमा लगाएको ताला तोडेकोमा भर्त्सना गरेको छ । कार्यालय खोलिएको भएपनि कर्मचारीले भने काम गरेका छैनन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीय निकायका कर्मचारीहरू थप आक्रोशित भएका छन् ।


मिना बुढाथोकी