कर्मचारी अभावमा सेवाग्राहीहरु नागरिकता पाउनबाट वञ्चित

  ०८० फागुन १८ गते

पुनर्वास नागरपालिकास्थित ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीमा दुई सातादेखि कार्यालय प्रमुख विहिन हुँदा आफूहरुले नागरिकतालगायतका सेवा पाउनबाट वञ्चित हुनुपरेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नुभएको छ ।

ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीका प्रमुख डम्बरबहादुर खड्कालाई गृह मन्त्रालयले दिएको ६ महिनाको जिम्मेवारी फागुन १ गते सकिएपछि बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका स्थानीयहरु नागरिकता, राहदानी सिफारिस र राष्ट्रिय परिचय–पत्र पाउनबाट वञ्चित भएका हुन् ।

छोरीको नागरिकता र परिचय–पत्र बनाउन दुई सातादेखि ईलाका प्रशासन कार्यालयमा पुग्ने गरेको भए पनि कार्यालय प्रमुख नभएपछि रित्तो हात फर्किन बाध्यभएको बेलौरी नगरपालिका–३ का मनी क्षेत्रीले दुखेसो पोख्नु भयो ।

लामो समयदेखि कार्यालयका कर्मचारी नभएपछि सेवा लिन आउने सेवाग्राहीहरुले कुनै सेवा नै नलिएर रित्तो हात फर्किने गरेको उहाँले बताउनु भयो ।

घरको सबै काम ठप्प राखेर महंगो गाडी भाँडा तिरेर दिनहुँ कार्यालय धाउदा पनि कार्यालयमा कर्मचारी र कार्यालय प्रमुख नभएपछि भाईको छोराहरुको नागरिकता र नाबालक परिचय–पत्र बनाउन नसकिएको लालझाँडी गाउँपालिका–२ का बसन्ती चौधरीले दुखेसो पोख्नु भयो ।

नागरिकता बनाउनका लागि ईलाका प्रशासन कार्यालयमा आउदा कार्यालय प्रमुखको काज अवधि सकिएकोले नागरिकतालगायतका अन्य सेवाहरु प्रवहा गर्न नसकिने भनेपछि रित्तो हात घर फर्किनु परेको पुनर्वास नगरपालिकाका स्थानीय तथा शिक्षक राम जोशीले गुनासो गर्नु भयो ।

ईलाका  प्रशासन कार्यालयबाट दैनक प्रवाह गरिने महत्वपूर्ण सेवाहरु ठप्प हुँदा समेत अन्य वैकल्पिक व्यवस्था नगरिनु लज्जास्पद भएको उहाँको भनाइ छ ।

ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीका कार्यालय प्रमुख डम्बरबहादुर खड्काको काज अवधि फागुन १ गते सकिएपछि गृह मन्त्रालयले जिम्मेवारी थप नगरिदिदा पुनर्वास नगरपालिका, बेलौरी नागरपालिका र लालझाँडी गाउँपालिकाका २१ वडाका नागरिकहरुले नागरिकता पाउन नसकेको प्रशासन कार्यालय त्रिभुवनबस्तीका सहायक कम्प्युटर अपरेटर देवेन्द्र थापाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘दिनहुँ ३० देखि ४० जना सेवाग्राही सेवा लिनको लागि कार्यालय धाउने गरेका छन् । कार्यालय प्रमुख नहुँदा दुई सातादेखि नागरिकता, राहदानी सिफारिश, राष्ट्रिय परिचय–पत्र लगायतका कामकाजहरु रोकिएका छन् । समस्या समाधानको लागि सम्बन्धीत निकायमा पत्राचार गरिएको छ ।’

ईलाका प्रशासन कार्यालय, त्रिभुवनबस्तीमा कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएका खड्काको समयावधि गृहले नबढाउँदा समस्या आएकोले यथासक्य चाडो कर्मचारी खटाएर सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।


लिली कुँवर