कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरी महिला मर्कामा

  ०७६ कात्तिक १८ गते

शैलुङ गाउँपालिका–४ को मागापौवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टर कर्मचारी अभावका कारण बन्द भएको छ ।

गत भदौ महिनाबाट सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा कर्मचारीको अभाव भएपछि उक्त सेन्टर एक महिना नपुग्दै असोजबाट नै बन्द भएको वडा नम्बर ४ का अध्यक्ष भरतप्रसाद ढुङ्गेलले बताए ।

बर्थिङ सेन्टरको अति नै आवश्यकता रहेकाले गत भदौ महिनाबाट सञ्चालन गरिएको उक्त सेन्टरमा  कार्यरत रहेका दुई जना अनमी कर्मचारी समायोजनका कारण सरूवा भई अन्यत्रै गएका र अन्य कर्मचारी पनि नभएकाले सुत्केरी सेवा दिन नसक्ने भएपछि दशैँ अघिबाट नै सार्वजनिक सूचना जारी गरी बर्थिङ सेन्टर बन्द गर्नु परेको मागापौवा स्वास्थ्य चौकीका प्रमुख टपेन्द्र शाहले बताए ।

गाउँपालिकाको आर्थिक सहयोग र वडाको सक्रियतामा बर्थिङ सेन्टर सञ्चालन भएपछि मागापौवाका महिलाहरू घरैमा सुत्केरी हुने समस्याबाट मुक्त भएका थिए ।

तर, अचानक बर्थिङ सेन्टर बन्द हुँदा गर्भवति महिलाहरूलाई फेरि कष्ट हुन थालेको स्वास्थ्य चौकीका प्रमुख शाहले बताए ।

बर्थिङ सेन्टर बन्द भएसँगै मागापौवाका महिलाहरू घरमै सुत्केरी हुनुपर्ने वा जिल्ला सदरमुकाम चरिकोट पुग्नुपर्ने बाध्यतामा परेको स्थानीय चमेली श्रेष्ठले गुनासो गरिन् ।

गाँउपालिकामा रहेका पाँच ओटा बर्थिङ सेन्टरमध्ये अन्य चार ओटाले पनि कर्मचारी अभावका कारण प्रभावकारी रूपमा सेवा दिन नसकेको सो गाउँपालिकाले जनाएको छ ।

कर्मचारी अभावकै कारण बन्द गरिएको बर्थिङ सेन्टरमा कर्मचारीको लागि स्वास्थ्य मन्त्रालयमा माग गरिएको र कमचारीको व्यवस्था हुनासाथै बर्थिङ सेन्टर तत्काल सञ्चालन गर्ने तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले बताए ।


उद्धव पोखरेल