कर्णाली प्रदेश: स्थानीय तह निर्वाचन २०७९
स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते मतदानका दिन अधिकांश स्थानमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । केही स्थानमा झडप, स्थगित, हवाई फायर र केही स्थानमा ढिला सुरु भएको पर्यवेक्षणका क्रममा पाइएको छ । सुर्खेत लगायतका केही जिल्लामा पानी र हावाहुरी आएपछि केही मतदान केन्द्रमा करिब एक घण्टा मतदान प्रभावित भएका समाचार प्राप्त भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ का दिन इन्सेकले कर्णाली प्रदेशका २५ मतदान केन्द्रमा अनुगमन गरेको थियो । इन्सेकका पर्यवेक्षकहरूले मतदान हुनु अघि, मतदानका दिन र मतदानपछिको अवस्थाका विषयमा पर्यवेक्षण गर्नेछन् । जिल्ला जिल्लाबाट प्राप्त समाचार यस प्रकार रहेका छन् ।
कालीकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार रास्कोट नपा–४ स्यूनास्थित रमाल मस्टा आधारभूत विद्यालय र पचालझरना गाउँपालिका–३ खार्दु जनता आधारभूत विद्यालय मतदान केन्द्रको मतदान स्थगित भएको मुख्य निर्बाचन अधिकृत लालकाजि श्रेष्ठले जानकारी गराउनु भएको छ । उहाँका अनुसार हालसम्म एकिन तथ्यांक नआए पनि जिल्लाभरिका १ सय १९ मतदान केन्द्रहरुमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । पचालझरनामा माओवादी र काङ्ग्रेस बीच झडप भएको थियो भने रास्कोटमा गठबन्धन र काङ्ग्रेस कार्यकर्ता बीच झडप भएको थियो । स्थगित भएको मतदान सर्वदलीय बैठक बसि मिति तय गर्ने मुख्य निर्वाचन अधिकृतले जनाउनु भएको छ । यसैगरी रास्कोट नपा–५ वडा मालिका उमावि केन्द्रमा काङ्ग्रेसले फर्जी मत हाल्न खोजेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले लाइन बस्नका लागि तयार गरिएको छेकवार र कूर्ची तोडफोड गरेपछि दिउँसो १२.३० बजेबाट स्थगित भएको मतदान सर्वदलीय बैठक पश्चात पुन २.४० बाट सुचारु भएको थियो । दुई ओटा केन्द्र रहेको उक्त मतदान केन्द्रमा घटना हुनुअघि उक्त मतदान केन्द्रमा ६ सय ५० मत खसेको थियो ।
जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार गुठीचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि मतदान स्थलमा नेपाली काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ता बीच दिउँसो १२.३० बजे झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुडामा चोट लागेको स्थानीय रामप्रकाश बिकले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईका अनुसार मतदाताले मतदाता परिचय पत्र च्यात्न खोजेपछि विवाद भएको हो । सर्वदलीय बैठकबाट सहमति हुन नसकेपछि उक्त मतदान केन्द्रको मतदान स्थगित भएको छ । यो मतदान केन्द्रमा एक हजार ७ मध्ये ३ सय १२ मत मात्रै खसेको छ । झडपमा खाली मतपत्र तीन ओटा र मतदाता नामावली सबै च्यातिएका थिए । अर्को सूचना नहुँदासम्म मतदान स्थगित भएको छ ।
यसैगरी जुम्ला सिंजा गाउँपालिका गाउँपालिका–१ धापा गाउँस्थित मालिका माविमा मतदान भइरहेको समयमा विप्लव माओवादीका कार्यकर्ताले दिउँसो ४ बजे ढुङ्गा प्रहार गरेपछि दिपक रोकाया घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको छ । केही समय प्रभावित भएपनि मतदान कार्य सम्पन्न भएको छ ।
रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार आठबीस नपा–९ सुन्दरपानीमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबीच झडप हुँदा ९ बजेदेखि स्थगित भएको मतदान बिहान ११ बजेदेखि सुरु भएको छ । यसैगरी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ मा मतदानका क्रममा मतदान अधिकृतको सहि विनाको मतपत्र भेटिएपछि स्थगित भएको मतदान ३ बजेदेखि सुरु भएको छ । पाँच ओटा हस्ताक्षर नभएको मतपत्र बदर हुने सर्वदलीय बैठकमा सहमति भएपछि मतदान पुन सुरु भएको थियो । काङ्ग्रेसका बाँफीकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीलेको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका ७ का ७० वर्षीय प्रमिण खत्री रहेका छन् । उपचारका लागि सल्ले अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको हो ।
रुकुम पश्चिम जिल्लामा १ लाख ४ हजार ८ सय ५३ रहेकोमा ७५ हजार ३ सय ७५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । रुकुम पश्चिममा करिब ७१.८८ प्रतिशत मतदान भएको छ ।
हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार चंखेली गाउँपालिका–२ को महादेव मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र उम्मेवारका समर्थकबीच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रोकाय तथा मतदाता लीला शाही घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । र स्थगित भएको मतदान पुन सुचारु भएको हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भयो । यसैगरी, अदानचुली गाउँपालिका–४ कुकुरफल्ना मतदान केन्द्रमा वारेसका विषयमा झडप हुँदा नेपाली सेनाले हवाइ फायर गरेको छ । केही समय स्थगित भएको मतदान पुन सुचारु भएको छ । यसैगरी, सिमकोट गाउँपालिका–२ रामदेव मावि मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थगित भएको मतदान पुन सुचारु भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका १ को मालिका मावि मतदान केन्द्रमा इच्छाएको व्यक्तिको नाममा भोट हाल्ने विषयमा भएको विवादमा एमाले र गठबन्धनबीच भएको झडपमा १० जना घाइते भएका छन् । खार्पुनाथ गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ भने काङ्ग्रेस र माओवादीबीच गठबन्धन भएको छ । झडप हुनु अघि ४ सय ६० मत खसेको छ भने ४ सय मत खस्न बाँकी रहेको थियो । झडप भएपछि केही समय स्थगित भएको उक्त मतदान केन्द्रको मतदान पुन सुचारु भएको छ ।
मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार बिहान ७ बजेबाट शुरु भएको मतदानमा मतदाताहरू लाइन उभिएकै बेला छाँयानाथ रारा नपा–२ का दुई जना र खत्याड गाँउपालिकाका तीन जना समेत पाँच जनाले त्रियापुत्रीले मतदान गरेका छन् ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा दिउँसो २.१० बजेदेखि हावाहुरी र पानी परेपछि करिब एक घण्टा मतदान प्रभावित भएको छ । पानी र हावाहुरी आएपछि मतदान केन्द्रमा मतपेटिका सुरक्षित राख्न र मतदाता ओत लाग्नका लागि तितरवितर भएका थिए । सुर्खेतको सिम्ता गाउँपालिका–२ जीवनज्योति मतदान केन्द्र काफलकोटमा काङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि करिब आधा घण्टा मतदान प्रभावित भएको स्थानीयबासी टोपबहादुर खत्रीले जानकारी दिनु भयो ।
यसैगरी सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती मावि मतदान केन्द्रमा एक थान मतपत्र मतदान अधिकृतको हस्ताक्षर विना वाडेको आरोपमा काङ्ग्रेसका कार्यकर्ताले विवाद गरी बाँकी रहेका मतपत्र च्यातेपछि उक्त मतदान केन्द्रमा मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनु भयो ।
जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार छेडागाड नपामा रहेका करिब ८० जना राउटेहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाएनन । उनीहरूसँग नेपाली नागरिकता र मतदाता परिचय पत्र नहुँदा स्थानीय तहको निर्वाचनमा भाग लिन नपाएको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यादेवी खड्काले जानकारी दिनु भयो ।
सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार वागचौर नगरपालिका ५ जनसेवा प्रावि गोठिवन मतदान केन्द्रमा बुवाको क्रिया बसेका तुलसीराम पाण्डेले मतदान दिनु भएको छ । सल्यानमा समग्रमा शान्तिपूर्ण मतदान भएको छ ।
डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार मुडकेचुला गाउँपालिका–४ मा माओवादी कार्यकर्ताको आक्रमणबाट सोही ठाउँ निवासी एमालेका कार्यकर्ता २२ वर्षीय हिमबहादुर बुढा र १५ वर्षीय कृष्ण शाही घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
दैलेख र जाजरकोटमा अन्य जिल्लाको तुलनामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…