कर्णाली प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न
कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा वडा अध्यक्ष, रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष र दैलेख जिल्लाको महाबु गाउँपालिकामा अध्यक्ष र दूल्लु नगरपालिका–१३ मा वडा अध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन बिहान ७ बजेबाटै सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ ।
इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लाकाे सर्केगाडमा उपाध्यक्ष पदका लागि सञ्चालन भएकाे उपनिर्वाचनमा साझ ५ बजेसम्म ४ हजार ५ सय २३ जना मतदाताले मतदान गरेका छन् । जसमा २ हजार ३ सय २८ पुरुष र २ हजार १ सय ९५ महिलाले मतादान गरेकाे मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद अधिकारीले बताउनु भयो । उक्त गाउँपालिकाभरी सञ्चालन भएका १२ ओटा मतदान स्थल र १३ ओटा मतदान केन्द्र गरी हालसम्म ६६.४१ प्रतिशत मत खसेकाे अधिकृत बरालले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि २ सय ६८ जना प्रहरी परिचालन गरिएको थियो । उपनिर्वाचनमा जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमा ६ हजार ८ सय १० मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिम रोकायाले जानकारी दिनुभएको थियो ।
इन्सेक डोल्पा जिल्ला प्रतिनिधि पुर्ण सार्कीका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा मतदान सम्पन्न भएको छ । बिहान ८ बजेर २० मिनेटदेखि मतदान सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबमा सुरु भएको र ३ सय ३ मत खसेको छ । चिसोले गर्दा प्रतिनिधि र मतदाताहरू ढिलो मतदान स्थलमा पुगेपछि ७ बजेदेखि सुरु हुने मतदान प्रक्रिया समयमा सुरु हुन नसकेको उहाँको भनाइ छ ।
वडा अध्यक्ष पदका लागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्वार बनेका छन् । एकिकृत समाजवादीबाट ज्वती घर्तीले उम्मेद्वारी दिए पनि उहाँले उम्मेद्वारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेद्वार घर्तीलाई सघाउने बताउनु भयो । उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको थियो ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६, नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली कांग्रेसले ८३ मत प्राप्त गरेको थियो । यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमाले बिच कडा प्रतिशप्रर्धा हुने देखिएको थियो । एकिकृत समाजवादीले समेत माओवादीका उम्मेद्वारलाई सघाउने घोषणा गरेपछि माओवादीका उम्मेद्वार निर्वाचित हुन सक्ने आँकलन समेत गरिएको थियो । अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदका लागि निर्वाचन सुरु भएको थियो ।
इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा २ सय १७ महिला र १ सय ९४ पुरुष गरी जम्मा ४ सय ११ मतपत्र खसेको छ । ६ सय ९ जना मतदाता रहेको सोही वडास्थित रहेको श्री कालिका माध्यामिक विद्यालय, राचुलि मतदान केन्द्रमा मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो । बिहानदेखि शान्तिपूर्ण मतदान भइ सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी गराउनु भएको थियो । उहाँका अनुसार सर्वदलीय बैठकपछि आजै रातिबाट मत गणना गरिने छ ।
इन्सेक जाजकोट र रुकुम पश्चिम जिल्ला प्रतिनिधि बासुदेब शर्माका अनुसार नलगाड नगरपालिकाको उपप्रमुख कुशे गाउँपालिका-७ को वडा अध्यक्ष पदका लागि भएका उपनिर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको छ ।
उपनिर्वाचनमा आफ्नो उमेदवारलाई बिजय गराउन नेता कार्यकर्ता शुभचिन्तकले मतदातालाई मतदान केन्द्रमा ओसार पसार गरिहेका छन् । नलगाड नगरपालिका-८, गणेश प्राथमिक विद्यालय मालुवातरा मतदान केन्द्रमा सात जना क्रियापुत्रीले मतदान गरेका छन् । नलगाड नगरपालिकाका सबै मतदान केद्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नविनकुमार कठायतका अनुसार नलगाडन नगरपालिकामा करिव ५० प्रतिशत भन्दा बढी मत खसेको बताउनु भयो । नलगाड नगरपालिका-८, लुपानाका बुबा हरिमान खत्रीको काजक्रियामा बसेका छोराहरू अते खत्री, गोम, खिमे, टिकाराम बालबहादुर खत्रीका पाँच भाइ आमाको काजक्रियामा बसेकै अवस्थामा मतदान गर्नुभएको छ ।
एक भोटले पनि आफनो उम्मेदवारले हारे पछुतो लाग्ने भएकाले आमा बुबा गुमाएको पीडा भएपनि मतदान गर्न आएको आमाको काजक्रियामा बसेका महेन्द्र सिहले बताउनु भयो । मुख्य निर्वाचन कार्यालयका सहायक अधिकृत धर्मवहादुर बुढाका अनुसार बिहान चिसोका कारण मतदाता गर्न नआए पनि १० बजेबाट आउने क्रम जारी रहेको थियो । मतदान प्रक्रियालाई धाँधली रहित बनाउन नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेनाका तीन ओटै सुरक्षा निकाय परिचालन गरिएको थियो । साँझ ५ बजेसम्म मतदाताले डर त्रास र भयरहित तरिकाले मतदान गर्न पाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको उहाँको भनाइ छ । नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिहको गत वर्ष कात्तिक १७ गते भूकम्पम परि मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन भएको हो ।
त्यस्तै रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका-५ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, घापागाड मतदान केन्द्रमा बिहान ७ बजेर २५ मिनेटमा मतदान सुरु भएको थियो । मुख्य निर्वाचन कार्यालका सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाले सानीभेर गाउँपालिका-५ को वडा अध्यक्ष पदका लागि भएको मतदानमा ८० प्रतिशत मत खसेको बताउनु भयो ।
१ हजार ४ सय ३४ मतदाता मध्य १ हजार १ सय ४६ जनाको मत खसेको छ । दुई ओटा मतदान स्थलमा मध्ये 'क' केन्द्रमा ७ सय र 'ख' केन्द्रमा ७ सय ३४ मतदाता गरी कुल १ हजार ४ सय ३४ मतदाता रहेका छन् । मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो । वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा माओवादी केन्द्रका तर्फबाट जसरिराम बस्नेत हुनुहुन्थ्यो । गत २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षमा निर्वाचित भएका अलबहादुर खत्रीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । सहायक निर्वाचन अधिकृत कोइरालाले आजै रातिबाट मतगणना सुरु हुने बताउनु भयो ।
इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर बहादुर सुनारका अनुसार मङ्सिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका १३ नं. वडाका वडाध्यक्ष पदको निर्वाचनमा ५४ प्रतिशतभन्दा बढी मत खसिसकेको अधिकारीहरूले बताएका छन् । महाबु गाउँपालिकाका ६ ओटै वडाका नौ स्थानमा रहेका १६ ओटा मतदान केन्द्रमा ६ हजार ८ सय ३७ मत अर्थात ५४.२० र दुल्लू नगरपालिका १३ का दुई स्थानका चार मतदान केन्द्रमा १ हजार ४ सय ७० मत अर्थात ५४.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख नरबहादुर सलामीले जानकारी दिनुभयो ।
केही मतदाता लाइनमा बसेका र साँझ ५ बजेसम्म अझै केही मतदाताहरू मतदान केन्द्रमा आउनसक्ने सम्भावना भएकोले ५५ प्रतिशत मतदाताहरुको मतदानमा सहभागिता हुने आफूले अनुमान गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनु भयो । '६ हजार जनाको हाराहारी मात्र मत खस्ला भन्ने अनुमान थियो, बढी नै सहभागिता भयो' - उहाँले भन्नुभयो । साथै जिल्लाका सबै स्थानमा मतदान सम्पन्न भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…