कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !

  ०८१ कात्तिक १७ गते

कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ ।

कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको पैदल जानुपर्ने भएकोले उहाँसँग घरमै सुत्केरी हुनुको विकल्प थिएन । घरमा सुत्केरी हुँदा साल अड्कियो । उहाँलाई बर्थिङ सेन्टरसम्म बोकेर साल निकालिएको थियो ।

गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामै गराउनुपर्ने सरकारी मान्यता भए पनि दुर्गमका बस्तीमा लागु हुन सकेको छैन । सोही गाउँकी पानसा बुढालाई दुई वर्ष अघि सुत्केरी व्यथाले च्याप्यो । डोकोमा बोकेर लैजाँदा बाटोमै सुत्केरी हुन सक्ने देखिएपछि परिवारले पनि घरमै सुत्केरी हुन दिए । उहाँको पनि सालनाल निस्केन । उहाँको गाउँदेखि बर्थिङ सेन्टर पुग्न तीन घण्टा लाग्छ । उहाँहरू जस्तै दुर्गम गाउँका अधिकांश गर्भवती महिला प्रसुति सेवा नपाएर गाउँ घरमै सुत्केरी हुने गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार लेकपुर गाउँबाट मात्रै बर्सेनि २० देखि २२ जना महिलाहरू सुत्केरी हुने गरेका छन् । तीमध्ये अधिकांश गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । 'पायक पर्ने स्वास्थ्य संस्थामा प्रसुति सेवा छैन । टाढा स्थापना भएका बर्थिङ सेन्टरको अवस्था समेत बुझ्न पाइरहेका छैनौँ । हामी त जोखिम हिसाबले सुत्केरी भइरहेको छौँ’ - पानसाले भन्नुभयो । गाउँपालिकामा एम्बुलेन्स पनि छ । तर गाउँमा सडक नजोडिएकोले एम्बुलेन्स जाँदैन । सुत्केरी, बिरामी बोक्ने राम्रो स्ट्रेचर समेत छैन । हिउँदको चिसो समयमा सबै पुरुषहरू व्यापारको शिलशिलामा बाहिर जिल्लातिर गएकाले महिला निकै जोखिमका साथ सुत्केरी भइरहेका हुन्छन् । हिउँदमा घरमा सुत्केरी हुन नसक्ने अवस्थामा महिलाले मात्रै बोकेर गर्भवती सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजान सक्दैनन् । स्थानीय पार्वती बुढाले भन्नुभयो - ‘व्यवहारमा सेवा नपाएर बिरामी सुत्केरीहरू गाउँमै छट्पटाइरहेका छन् ।’

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने अभियान अनुसार नियमित चार पटक गर्भजाँच गर्नुपर्ने र त्यो वापत् ८ सय रुपियाँ समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराए वापत् ३ हजार रुपियाँ यातायात खर्च स्वरुप पाउने प्रावधान पनि छ । तर लेकपुर गाउँका गर्भवती महिलाले नियमित गर्भजाँच गर्न र स्वास्थ्य संस्थामा सुत्केरी हुन पाइरहेका छैनन् । सरकारबाट पाउनुपर्ने सबै सेवाबाट उनीहरू वञ्चित भइरहेका छन् ।

स्वास्थ्य शाखा सह–संयोजक छाया घर्तीले लेकपुर गाउँमा बर्थिङ सेन्टरको आवश्यकता भएको बताउनु भयो । उहाँले भन्नुभयो - 'स्थानीय तहले गर्भवतीका लागि एम्बुलेन्स सेवा दिइरहेको छ । स्थानीय तहभित्र पाँच ओटा बर्थिङ सेन्टर छन् । तर लेकपुर गाउँका महिला सबै सेवाबाट वञ्चित नै छन् ।’ तातोपानी गाउँपालिका–७ र ८ स्थित भेरीखोला भौगोलिक रुपमा विकट छन् । गाउँ–गाउँ पुग्ने कच्ची सडक खनिए पनि सवारी साधन गुड्दैनन् । अहिले पनि यहाँका स्थानीयको आउजाउ पैदल नै हुने गरेको छ । भौगोलिक विकटताकै कारण अहिले पनि यहाँका गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । भेरीखोलामा दुई दर्जन गाउँ छन् । यस क्षेत्रको पायक पर्ने ठाउँ लामाबगरमा स्वास्थ्य चौकीमा गर्भवती महिलालाई सुरक्षित रूपमा सुत्केरी गराउनका लागि प्रसुति गृह स्थापना गरिएको छ । तर, स्वास्थ्य संस्थाको प्रसुति गृहमा न्यून सङ्ख्यामा प्रसुति हुन आउने गरेका छन् ।

गत आर्थिक वर्षमा यस क्षेत्रका ३६ जना सुत्केरी भए । जसमध्ये ११ जनामात्रै स्वास्थ्य संस्थामा आएर प्रसुति भएको स्वास्थ्य चौकीका प्रमुख सन्तोष मल्लले बताउनु भयो । अघिल्लो वर्ष ८३ जना सुत्केरी भएकामध्ये २० जनामात्रै स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । ६३ जना घरमै असुरक्षित सुत्केरी भए । यो क्षेत्रमा सुत्केरी हुनेको सङ्ख्या अत्याधिक छ । घरमै हुने सुत्केरी न्यूनीकरण गर्न खोजे पनि विभिन्न समस्याका कारण अस्पताल लिएर आउन नसकेको उहाँको भनाइ छ । भौगोलिक विकटता, गरिबी र घरमा मान्छे नहुने समस्या घरमै हुने सुत्केरीको सङ्ख्या बढेको प्रमुख मल्लको भनाइ छ । ‘गाउँ–गाउँ पुग्ने कच्चा सडक त खनिएका छन् । खनिएका सडकमा नियमित सवारी साधन चल्दैनन् । खनिएका सडक पनि बाढी, पहिरोले भत्केका छन् । घरमै हुने सुत्केरी घटाउन यो क्षेत्रका लागि मात्रै एउटा एम्बुलेन्सको आवश्यक छ' - उहाँले भन्नुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने दर पनि घटेको छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्ड अनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले अब बर्थिङ सेन्टरलाई मापदण्ड अनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना पनि समीक्षा कार्यक्रममा गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताउनु भयो ।
आर्थिक वर्ष २०७८/७९ मा ३ हजार १ सय ९० जना घरमै असुरक्षित सुत्केरी भएको छ । तर आर्थिक वर्ष २०७९/८० मा निकै झरेर ४ सय ८८ जना घरमै सुत्केरी भएको निर्देशनालयमा तथ्याङ्कको रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा भने बढेर १ हजार २ सय ३८ जना घरमै सुत्केरी भएको तथ्याङ्क रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्ककाले बताउनु भयो । उहाँले भन्नुभयो - 'संस्थामा सुत्केरी हुने दर बढाउने कार्यक्रमलाई प्राथमिकता दिने पनि योजना बनाएको छ ।'


मानदत्त रावल