राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा शान्तिपूर्ण मतदान सम्पन्न, गठबन्धनका उम्मेदवार विजयी

  २०८० माघ ११

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा माघ ११ गते बिहान ९ बजेबाट सुरु भएको मतदान ३ बजे सम्पन्न भएको थियो ।  शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको सहायक मतदान अधिकृत रावलले बताउनुभयो ।

कर्णालीमा ७९ ओटा पालिकाका १ सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै गठबन्धनका उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिनुभयो । उहाँका अनुसार गठबन्धनबाट अन्य कोटामा उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशसभा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गर्नुभएको छ ।

महिलातर्फ गठबन्धन उम्मेदवार बनेकी समाजवादीकी सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त मात्रै पाउनुभयो ।

त्यस्तै दलिततर्फ गठबन्धनको तर्फबाट माओवादीका विष्णु विकले प्रदेश सभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गदै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका हिक्मत विकले प्रदेश सभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरेर पराजय हुनुभएको छ । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । जस अन्तर्गत कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै निर्वाचनमा होमिएको थियो ।

प्रदेश सभा कर्णालीमा कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, समाजवादी र राप्रापाका एक/एक जना गरी ४० जना  रहेको सांसद रहेका थिए । एक जना सांसद रहेको राप्रापाले आफ्नो इच्छा अनुसार प्रतिनिधि छानेर मतदान गरेको सांसद सन्तोषी शाहीले बताउनु भयाे ।  यहाँका सबै मतदाता मतदानमा सहभागी हुनुभएको थियो ।

Photo20240125Surkhet


जगतदल जनाला विक