कर्णालीमा उम्मेदवारी दर्ता: राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन

  ०७९ वैशाख १३ गते

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमा विभिन्नि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउनु भएको समाचार इन्सेकका जिल्ला प्रतिनिधिले पठाउनु भएको छ ।

कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार जिल्लाका नौ स्थानीय तहमा विभिन्नि राजनीतिक दल र स्वातन्त्र गरी ८७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लामा क्रियाशिल एमाले, काँग्रेस र माओवादी केन्द्र लगाएतका राजनीतिक दलहरुले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन भने नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले स्वतन्त्र उम्मेदारी दिएको छ । साथै पाँच दलीय गठबन्धनबाट उम्मेदवार नपाएकाले पनि स्वातन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले जानकारी गराउनु भएको छ ।

जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकामा एकिकृत समाजवादी पार्टीले प्रमुख, उपप्रमुख वडाध्यक्षसम्म स्वतन्त्र उम्मेदवारी दिएको छ भने रास्कोट नपामा माओवादी केन्द्र निकटका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दिएको खाँडाचक्रका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

रास्कोट नपामा विप्लव नेतृत्वका नेकपाकी नेता संविधान सभा सदस्य धिरेन्द्रा उपाध्यायले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

८२ वटा वडा रहेको यस जिल्लामा ४ सय १३ जनाले वडाध्यक्षको उम्मेदवारी दर्ता गराउनु भएको छ भने थप विवरण आउन बाकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु प्रसाद देवकोटाका अनुसार स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेसको तर्फवाट चन्द्रलाल धराला उपप्रमुखमा सावित्री पहाडी, नेकपा एमालेबाट प्रमुखमा जनचन्द्र रोकाया उपप्रमुखमा देवी घर्तिको उम्मेद्वारी परेको छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दिलबहादुर विष्ट, उपप्रमुखमा कालि चलाउनेको उम्मेद्वारी दर्ता भएको छ । नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखमा छक्कबहादुर धरालाको उम्मेवारी परेको छ । यसैगरी स्वतन्त्रबाट नेकपा एमालेका बागी उम्मेद्वारको रुपमा नगरप्रमुख पदमा विमल पहाडी (विवाकर पहाडी) को उम्मेद्वार परेको छ भने नेपाली काँग्रेसको उपप्रमुख पदमा रमा बोहराको स्वतन्त्रबाट वागी उम्मेद्वारी दर्ता भएको छ ।

ठूलीभेरी नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काँग्रेसवाट शुवर्णबहादुर बुढा, नेकपा एमालेवाट पूर्णबहादुर डाँगी, नेकपा माओवादीवाट प्रमुख पदमा वीरेन्द्र डाँगी एकीकृत समाजवादीबाट कर्णबहादुर रोकायाको उम्मेद्वारी दर्ता भएको छ । यसै गरी स्वतन्त्रबाट प्रमुख पदमा प्रेमबहादुर बोहराको उम्मेद्वारी दर्ता भएको छ । यसैगरी शे फोक्सुण्डो गाउँपालिका अध्यक्षमा नेकपा एमालेका धावासम्दुक लामाको मात्र एकल उम्मेदवारी परेको छ । यसै गरी मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट लंकबहादुर रोकाया र नेकपा माओवादी केन्द्रवाट दत्तबहादुर शाहीको उम्मेद्वारी दर्ता भएको छ । जगदुल्ला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारासिं रोकाया र नेकपा एमालेबाट धनजित बैजीको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश केशवराज चपाईका अनुसार उम्मेद्वारी दर्ताको पहिलो दिनमा कसैले उम्मेदवारी दर्ता नभई दोस्रो दिन मात्र सबै पार्टी र स्वतन्त्रवाट उम्मेदवारी दर्ता भएकाले समय अभावले सबैको विवरण आउन नसकेको र राती अवेरसम्म उम्मेद्वारी दर्ता प्रकृया समाप्त गरेर अन्तिम नामावली प्रकाशित गरिने कार्यक्रम रहेको जानकारी दिनु भयो । प्रदेशबाट सत्तागठबन्धन दलहरुले जिल्लामा गठबन्धन गर्ने सर्कुलर गरेपनि भागवण्डामा सहमति हुन नसकेपछि सबै दलले एक्ला एक्लै उम्मेद्वारी दर्ता गरी प्रतिस्पर्धामा उत्रेका छन् ।

सुर्खेत जिल्ला प्रतिनिधि पूर्ण बहादुर खड्का अनुसार सुर्खेतका नौ ओटै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । वैशाख ११ र १२ गते दुई हजार एक सय ९९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार प्रमुख पदमा ४८ जनाको उम्मेदवारी परेको छ भने, अध्यक्षमा २३ जनाको छ । त्यस्तै, उपप्रमुख पदमा ४१ जनाको उम्मेदवारी परेकोमा उपाध्यक्षमा २३ जनाको उम्मेदवारी परेको छ ।

नौ स्थानीय तहको वडाअध्यक्षमा चार सय ९९, महिला सदस्यमा तीन सय ९० जना, दलित महिला सदस्यमा तीन सय ५१ जना र सदस्यमा आठ सय २४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का र उपमेयरमा रामकुमारी थापाले मनोनयन दर्ता गराएका छन् ।

अन्य दलभन्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अघि पुगेको एमालेले तामझामका साथ मेयरमा मोहनमाया ढकाल र उपमेयरमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् । मेयर पदमा उठनका लागि ढकालले यसअघि उपमेयर पदबाट राजिनामा दिनु भएको थियो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले मेयरमा राजेन्द्र गिरी र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवारी दर्ता गराउनु भएको छ । एकीकृत समाजवादीबाट मेयरमा वीरबहादुर रावत र उपमेयरमा धना शाहीले उम्मेदवारी दिनु भएको छ ।

राप्रपाले पनि मेयरमा केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरी र उपमेयरमा लक्ष्मीकुमारी विकले उम्मेदवारी दिनु भएको छ । स्वतन्त्रबाट पनि मेयरमा चिन्तामणि शर्मा र उपप्रमुखमा अनिल ढकालले उम्मेदवारी दिनु भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनबीच कर्णाली प्रदेशका आठ जिल्लामा चुनावी तालमेल गर्ने सहमति अनुसार सिट बाँडफाँड गराउनु भएको छ । सुर्खेत र रुकुपश्चिमबाहेक अन्य सवै जिल्लामा तालमेल गर्ने सहमति भएअनुसार नै उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रदेश संयन्त्रले गरेको सहमति अनुसार माओवादी केन्द्र पहिलो शक्ति बनेको छ । कांग्रेस दोस्रो स्थानमा र एकीकृत समाजवादी तेस्रो स्थानमा चित्त बुझाएको छ ।

सहमति अनुसार माओवादी केन्द्रले प्रदेशको २५ पालिका प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ । नेपाली कांग्रेसले २५ पालिका प्रमुख र २३ पालिका उपप्रमुख पाएको छ । त्यस्तै, एकीकृत समाजवादीले १३ पालिका प्रमुख र १६ वटा पालिकामा उपप्रमुख पाएको छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार जिल्लाका चारवटा स्थानीय तहमा नेकपा एमाले, नेपाली कांग्रेसले र जनता समाजबादीले एकल उम्मेदवारी दर्ता गरेका छन । नेकपा माओवादी एकीकृत समाजबादीले सबै पदमा गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन ।

सत्ता गठबन्धन दलबीच सहमति नभएपछि छाँयानाथ रारा नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजबादीले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन भने नेकपा एमाले, नेपाली काँग्रेस र जनता समाजबादी पार्टीले सबै पदमा एकल उम्मेदवारी दिएका हुन अन्य तीन स्थानीय तहमा समेत दुई दल बाहेक एमाले, काँग्रेस र जसपाले सबै पदमा एकल उम्मेदवारी दर्ता गराएको ती पार्टीका नेताले बताएका हुन ।

सत्तारुढ गठबन्धन दलहरुको गठबन्धनमा नेपाली काँग्रेस, माओवादी र एकीकृत समाजबादीबीच वडा स्तरको भागबण्डामा सहमति नभएपछि काँग्रेसले छाँयानाथ रारा नगरपालिकामा सबै पदमा एकल उम्मेदवारी दर्ता गराएको छ । नेकपा माओवादी र एकीकृत समाजवादीले सबै पदमा गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएको एकीकृत समाजबादी मुगु सचिब पारसमणी मल्लले बताए । यता एमाले र जनता समाजबादी पार्टीले पनी सबै पदमा एकल उम्मेदवारी दिएका छन ।

बिहान १० बजेदेखि मुख्य निर्बाचन कार्यालयमा बाजागाजा सहित उम्मेदवारी दिन पुगेका उम्मेदवार उनका सर्मथकहरुको भिडले गमगढी बजारमा सर्बसाधरणलाई आवत जावतमा सकस भएको थियो ।

जिल्लाका चारै स्थानीय तहमा गठबन्धन गरेर जाने भनेका सत्तारुढ दलहरु बीच सहमति नभएपछि छाँयानाथ रारा नगरपालिका सहित खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा काँग्रेस सबै पदमा एकल उम्मेदवारी दिएको छ । अरु दुई दल नेकपा माओबादी र एकीकृत समाजबादी गठबन्धन गरेर उम्मेदवारी दिएका छन । नेकपा एमालेले सबै स्थानीय तहमा एकल उम्मेदवारी दर्ता गराई सकेको नेकपा एमाले मुगुका सचिब डवल रोकायाले बताएका छन ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठका अनुसार जिल्लाका अधिकांश पालिकामा सत्ता गठबन्धन दल तथा नेकपा एमालेले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । ०७९ बैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालयमा पुगि दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

बारेकोट गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा महेन्द्रबहादुर शाह र उपाध्यक्षमा कालु ज्योतीले उम्मेदारी दिनु भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा कसैले पनि दर्ता गराउनु भएको छैन भने उपाध्यक्षमा निशान गिरीले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी नेकपा एमालेबाट अध्यक्षमा वीर बहादुर गिरीले मनोनयन दर्ता गराउनु भएको छ ।

कुशे गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा देविका सिंहले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा माओवादी केन्द्रबाट जनकराज गौतम (अमृत) र उपाध्यक्षमा विकास रोकायले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तप्त हमाल र उपाध्यक्षमा जानुका मल्लले मनोनयन दर्ता गराउनु भएको छ ।

भेरी नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखमा सनत कुमार कार्की र उपप्रमुखमा सिता जैसीले मनोनयन दर्ता गराउनु भएको छ भने नेकपा माओवादी केन्द्रबाट गगन खड्काले मनोनयन दर्ता गराउनु भएको छ । त्यसैगरी नेकपा एमालेबाट प्रमुखमा चन्द्र प्रकाश घर्ती र उपप्रमुखमा सावित्रा चन्दले मनोनयन दर्ता गराउनु भएको छ भने नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखमा कमान बहादुर खड्काले मनोनयन दर्ता गराउनु भएको छ ।

छेडागाड नगरपालिकामा गठबन्धन दलका नेपाली काँग्र्रेसबाट नगरप्रमुखमा रत्न खड्का र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापाले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट नगर प्रमुखमा लाल बहादुर महतारा र उपप्रमुखमा अञ्जु थापाले मनोनयन दर्ता गराउनु भएको छ ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार मनोनयन दर्ता शान्तिपूर्ण भयो भने दलहरुद्वारा आचार संहिता उल्लंघन गरेका छन् । स्थानीय तह निर्वाचनकालागि सल्यानमा १६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो ।

तीन वटा नगरपालिका र ७ वटा गाउँपालिकामा चाहिने मेयर,उपमेयर, अध्यक्ष,उपाध्यक्ष,वडाअध्यक्ष र सदस्य गरी ४सय ३५ जना जनप्रतिनिधिका लागी आवश्यक भन्दा करिब चार गुणा बढी उम्मेद्दवारी परेको निर्वाचन कार्यालय सल्यानका सुचना अधिरकारी तेजेन्द्र चन्दले जानकारी दिनुभयो ।

बैशाख १२ गते दोस्रो दिन अपराहन्न ३ बजेपछि मात्रै दलहरु मनोनयन दर्ता गर्न आएकाले शारदा नगरपालिकामा रहेको मुख्य निर्वाचन कार्यालयमा खटिएका कर्मचारीले रातभरी मनोनयन दर्ताको काम गरेपनि अझै फाइनल डाटा बाहिर आउन नसकेको उहाँले बताउनुभयो ।

जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौर नगरपालिकामा २सय ५६, बनगाड कुपिण्डे नगरपालिकामा २ सय १२ दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ सिद्धकुमाख गाउँपलिकामा ८१, छत्रेश्वरी गाउँपालिकामा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै कालिमाटी गाउँपालिकामा १ सय ३२ र कपुरकोट गाउँपालिकामा १ सय १ जनाले मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि दलहरु स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेका थिए । मनोनयन दर्ता गर्दा जिल्लाका विभिन्न पालिकामा दलहरुले नर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

मनोनयन दर्ताको क्रममा नेकपा एमाले,नेपाली काँग्रेस नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी)ले आचार संहिता विपरित झण्डाको प्रयोग गरेको पाइएको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार जिल्लाका सात वटै गाउँपालिकामा शान्त रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ । वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि दलहरूबाट हर्सोउल्लाससाथ आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । विशेष गरी सत्ता गठबन्धन दल र एमालेले बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुुसार जिल्लाका सात वटै गाउँपालिकामा शान्तिपूर्ण रूपमा दलका तर्फबाट मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको बतउनु भयो । उहाँका अनुुसार नाम्खा गाउँपालिका सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कांग्रेसका तर्फबाट तक्दिर लामाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, एमालेबाट उपाध्यक्षमा नोरजाङ लामाको मनोनयन दर्ता भएको छ भने अध्यक्षमा स्वतन्त्रबाट सूर्य लामा, माया लामा, कार्मातण्डुप लामाको उम्मेदवारी परेको छ । सिमकोट गाउँपालिकामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रबाट विजय भण्डारी र उपाध्यक्षमा कांग्रेसकी सुशिला रोकायाको उम्मेदवारी परेको छ ।

एमालेबाट अध्यक्षमा महेन्द्रबहादुर शाही र उपाध्यक्ष प्रतिमा लामा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तीर्थराज रोकाया र उपाध्यक्षमा प्रेमा लामाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा स्वतन्त्रबाट नन्दबहादुर शाहीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा दीपबहादुर सिंहले नाम दर्ता गराएका छन् ।

त्यस्तै, खार्पुनाथ गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर रावल र माओवादी केन्द्रकी लक्ष्मीकुुमारी योगी रावल, एमालेबाट प्रकाशबहादुर शाही र स्वतन्त्रबाट वीरजंग शाहीको उम्मेदवारी परेको छ । त्यसैगरी, उपाध्यक्षमा दल र स्वतन्त्र गरी नौ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सर्केगार्ड गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेसबाट ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की, एमालेको तर्फबाट अध्यक्षमा ज्ञामी बुमीको उम्मेदवारी परेको छ । उक्त गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा मानदेव शाही र अकिल बुढा तथा उपाध्यक्ष ज्योति शाहीको मनोनयन दर्ता भएको छ ।

चंखेलीमा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका गोविन्द शाही र उपाध्यक्षमा कांग्रेसकी मैना बुढा, वाम समीकरणतर्फ एमालेबाट अध्यक्षमा विमला शाही र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीको उम्मेदवारी परेको छ । अध्यक्षमा स्वतन्त्र प्यारीलाल शाही र उपध्यक्षमा भैरव तामाङले उम्मेदवारी दिएका छन् ।

अदानचुलीमा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्षमा कर्ण रोकायाको उम्मेदवारी परेको छ । एमालेको तर्फबाट अध्यक्षमा दलबहादुर फडेराको उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारीको उम्मेदवारी परेको छ ।

त्यसैगरी ताँजाकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैशी र उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाको उम्मेदवारी परेको छ । अध्यक्षमा एमालेको अजमल बूढा र उपाध्यक्षमा चन्दादेवी ऐडीको उम्मेदवारी परेको छ ।

अध्यक्षमा स्वतन्त्र गोपाल बुढा र अकवीर खड्का र उपाध्यक्ष तिलक शाहीको मनोनयन दर्ता भएको छ । यसअघि दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा जानुअघि बाजागाजासहित जुलुस निकालेर बजार परिक्रमा गरेका थिए ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत