कर्णालीमा आत्महत्या घटना बढ्दै

  ०८० भदौ २७ गते

कर्णाली प्रदेशमा आत्महत्या घटना बढ्दै गएकाे छ ।  पछिल्लो तीन वर्षको अवधिमा ९ सय १ जनाले आत्म हत्या घटना भएकाे तथ्याङ्कले देखाएकाे छ  । २०७७ साउन १ देखि २०८० साउन १ गते सम्मको अवधिमा प्रदेश भरीमा ९ सय १ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जस मध्य ४ सय ९९ जना  पुरुष , २ सय ९६ जना महिला, ७९ बालिका र ३७ बालक गरी ९ सय १ जनाले आत्महत्या गरेका हुन । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ ।

आर्थिक वर्ष २०७७।७८मा १ सय २१ महिला, १ सय ८२ पुरुष,१५ बालक र २१ बालिका गरी ३ सय ३९ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७८।७९ मा १ सय ६० पुरुष, ९४ महिला,२४ बालिका र ११ बालकले आत्महत्या गरेका कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०७९।८०मा १ सय ५७ पुरुष, ८१ महिला ,२४ बालिका र ११ बालक गरि २ सय ७३ जनाले आत्महत्या गरेका छन । बिष सेवन गरेर,भुण्डिएर,हात हतियार औजारबाट,पानीमा हाम फालेर र आगो लगाएर आत्म हत्या गर्ने गरेको पाइएकाे छ । जसमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ ।

आर्थिक वर्ष २०७७।७८ मा कर्णाली प्रदेशका १० जिल्ला मध्ये  सुर्खेतमा १ सय २१ जना, दैलेखमा,५५ जना,जाजरकोटमा २६ जना,रुकुम पश्चिममा ३१ जना ,सल्यानमा ६८ जना,जुम्लामा १४ जना,हुम्लामा ३ जना ,मुगुमा ५ जना कालिकोटमा १६ जना र डोल्पामा शुन्य रहेका छ ।

यस्तै गरी आर्थिक वर्ष २०७८।७९ मा सुर्खेतमा १ सय २ जना,दैलेखमा ५६ जना,जाजरकोटमा १७ जना,रुकुम पश्चिममा २६ जना,सल्यानमा ५३ जना,जुम्लामा ७ जना,हुम्लामा २ जना,मुगुमा ८ जना,कालिकोटमा १७ जना र डोल्पामा १ जनाले आत्महत्या गरेका छन ।

गत आर्थिक वर्ष २०७९।८०मा सुर्खेतमा १ सय ९,दैलेखमा ४४,जाजरकोटमा १९,रुकुम पश्चिममा २८,सल्यानमा ४५,कालिकोटमा १२,जुम्ला ६ र हुम्लामा ६ र मुगुमा ४ जनाले आत्म हत्या गरेका तथ्याङ्क छ ।

पछिल्लो ३ वर्षको आत्महत्याको अवस्थालाई हेर्दा सबै भन्दा धेरै सुर्खेत जिल्लामा र सबै भन्दा कम डोल्पामा रहेको छ ।

गरिबी,बेरोजगारी,चेतनाको कमीका कारण कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्ने गरेको कर्णाली प्रदेश कार्यालय,सुर्खैतका एसएसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । राज्यले न्युन आय भएका नागरिकको जीवनस्तर उकास्न सके आत्महत्याका घटनामा न्युनिकरण हुने उहाँको भनाइ छ ।

बढ्दै गरेको आत्महत्याको घटनालाई न्यूनिकरणका लागि सामुदायस्तरमै जनचेतना फैलाउन आवश्यक रहेको र यसका लागि सबैले आफ्नो  ठाँउबाट सहयोग गर्न पर्ने एसएसपी भट्टराईले बताउनुभयो ।

कर्णाली प्रदेश अस्पताल,सुर्खेतमा कार्यरत मानसिक रोग विशषेज्ञ डाक्टर सुशील समदर्शीले कर्णालीमा अनुवांशिक मनोविज्ञान, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारण आत्महत्या गर्ने गरेकोले त्यसको न्यूनिकरणमा सचेतना फैलाउनुपर्नेमा बताउनुभयो ।

अन्य रोगहरु जस्तै मानसिक रोगको पनि उपचार हुने कुराको सचेतना फैलाउनमा सरकारी र गैरसरकारी संघ संस्थाले कार्यक्रम गर्न डाक्टर समदर्शीले सुझाव दिनुभयो ।

पछिल्लो समयको फेरिँदो जीवनशैली, रहनसहन असिमित इच्चा चाहाना र घरेलु हिंसा जबरजस्ती करणी जस्ता घटना नै आत्महत्याको मुख्य कारण रहेको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालकी मनोविमर्शकर्ता शर्मीला विसीले बताउनुभयो ।

उहाँका अनुसार ९५ प्रतिशत मानिसहरुको आत्महत्या गर्नुुको कारण मानसिक समस्या नै हो । त्यो सँगै पारिवारिक बेमेल लगायतका कारण मानसिक समस्या मानिसहरु पर्ने गर्दछन् ।

आत्महत्या न्यूनिकरण गर्नका लागि त्यस्ता समस्या भएका व्यक्तिहरु र मनोविमर्शकर्ता र मनोचिकित्सकबिच जोड्ने कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

त्यस्तै गरी,कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी कम्यूनिटी नर्सिङ्ग अधिकृत कविता खत्रीले आत्महत्या न्यूनिकरण गर्नका लागि मन्त्रालयले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएकोे जानकारीदिनु भयो । आत्महत्या न्यूनिकरणमा परिवार, समाज र सरकारको उत्तिकै भूमिका रहेको बताउनुभयो ।


हिरा परियार