कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट बञ्चित

  ०७९ माघ ९ गते

सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नेपाल सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । राज्यले नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हो । तर, धेरै आर्थिक व्ययभार थेक्न नसक्ने भएपछि सरकारले बिमितबाट केही शुल्क लिएर स्वास्थ्य बीमा कार्यक्रम सन्चालन गर्दै आएको छ ।

आर्थिक रुपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्यका साथ मुलुकमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भयो । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पालादेखि नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । कर्णाली जस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने कार्यक्रमको लक्ष्य भएपनि अझै विपन्न नागरिक अपेक्षित रुपमा स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् ।

नागरिकलाई अझै पनि राज्यले निशुल्क स्वास्थ्य सेवा दिनुपर्दछ भन्ने बुझाई छ । स्वास्थ्य बीमाका फाइदाबारे जानकारी नपाउनु र आर्थिक अबस्था कमजोर भएका कारण कर्णालीका लाखौ विपन्न नागरिक अझै स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित भएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । जसमध्ये स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ६ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका एक चौथाई नागरिक बीमा कार्यक्रमबाट बन्चित रहेका छन् ।

करिब १७ लाख जनसङ्ख्या रहेको कर्णाली प्रदेशमा हालसम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्याङ्क छ । जुन कुल जनसङ्ख्याको २१ प्रतिशत मात्रै हुन आउँछ । यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाबाट बन्चित रहेको तथ्याङ्कले देखाएको छ ।

विभिन्न ७२ प्रकारका औषधि निशुल्क पाउनेदेखि जटिल रोगको ३५ सयमा पाँच जना परिवारले सस्तोमा उपचार गर्न पाउने बिमा सुलभ सेवाबाट कर्णालीका एक चौथाई नागरिक अझै बन्चित रहनु दुखद पक्ष हो । बीमाबारे शिक्षा नदिनु सरकारकै कमजोरी रहेको देखिन्छ । स्वास्थ्य बीमा कार्यक्रमले विपन्न नागरिकलाई निकै राहत पु¥याएको छ ।

नागरिक राजबहादुर महत भन्नु हुन्छ, “बीमाको सेवा प्रवाह केहि ढिलासुस्ती छ । तर त्यस कार्यक्रमबाट विपन्नले राहत पाएका छन् । कर्णालीका ७९ प्रतिशत नागरिक अझै बीमाबाट बन्चित रहनु दुखद पक्ष हो । प्रदेश सरकारले सबै नागरिकलाई बीमाको पहुँचमा पु¥याउने नीति ल्याउनु जरुरी छ ।” कर्णालीमा २०७४ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो ।

सुर्खेतमा बढी र डोल्पामा कम नागरिक बिमित

कर्णाली प्रदेशका ३ लाख ५० हजार नागरिक स्वास्थ्य बिमित भएका छन् । कार्यक्रम संचालन भएको ५ वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसङ्ख्या रहेकोमा हालसम्म ३ लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बीमाको पहुँचमा पुगेका हुन् ।

जसमध्ये जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बीमाको पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय जुम्लाले जनाएको छ । करिब १ लाख २० हजार जनसङ्ख्या रहेको जुम्लामा अझै ५२ हजार २ सय ६२ बढी नागरिक बीमाबाट बन्चित रहेको पाइन्छ । यदपी, बीमाको पहुँच विस्तार तथा सचेतनाका कार्यक्रम अघि बढेको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका लागि सेवा क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ ।

त्यस्तै राष्ट्रिय बीमा बोर्डको तथ्याङ्क अनुसार सुर्खेतका ७५ हजार ४ सय २३ जना, दैलेखका २० हजार ३ सय ४४ जना, हुम्लाका १४ हजार १ सय ४२, सल्यानका ९ हजार २ सय १ जना नागरिकको बीमाको पहुँचमा पुगेका छन् ।

साथै डोल्पाका २ हजार ६ सय ६०, रुकुमपश्चिमका ७० हजार २ सय ५१, जाजरकोटका ४४ हजार २ सय १७, कालिकोटका ४५ हजार ५ सय ५४ र मुगु जिल्लाका ६ हजार ९३ जना गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ । हालसम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बिमित रहेका छन् ।


मानदत्त रावल