करारका स्वास्थ्यकर्मीम्याद थप नभएपछि रुबीभ्याली र गजुरी गाउँ पालिकामा स्वास्थ्य सेवा ठप्प

  ०७९ साउन २ गते

गजुरी र रुबीभ्याली गाउँपालिकामा करारका कार्यरत कर्मचारीको म्याद नयाँ आर्थिक वर्ष सुरु भएसँगै म्याद थप नभएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

यस अघिको स्थानीय सरकारले करारमा नियुक्त गरेका कर्मचारीको म्याद नवनिर्वाचित जनप्रतिनिधि आएपछि थप हुन सकेको छैन ।

करारका कर्मचारी मात्र भएका स्वास्थ्य चौकीहरूमा भने सेवा प्रवाह रोकिएको स्थानीयबासिले जानकारी दिएका छन् ।

स्वास्थ्य जस्तो विषयमा ख्याल नगरी निर्णय गरेपछि विवाद सिर्जना भई ग्रामीण भेगमा स्वास्य सेवा समेत बन्द भएको हो ।

रुबीभ्याली गाउँपालिकामा वडा नं ८ का स्वास्थ्य संस्था असार २० गतेदेखि नै बन्द भएकका छन् ।

खादिङ आधारभुत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पो आधारभुत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य इकाई, तिनचेत सामुदायिक स्वास्थ्य ईकाई, कुप्चेत  सामुदायिक स्वास्थ्य इकाई, नेवेर सामुदायिक स्वास्थ्य इकाई, सेर्तुङ हेल्थपाष्टबाट उपलब्ध हुने स्वास्थ्य संस्था बन्द भएको छ ।

स्वास्थ्य संस्थाहरू बन्द हुँदा सुत्केरी गराउन आउनेदेखि स्वास्थ्य परीक्षण गरी औषधि लिन आउने बिरामीहरूले समस्या भोगेको करार सेवामा कार्यरत पूर्व कर्मचारी अहेब निरबहादुर तामाङले बताउनुभयो ।

गाउँ पालिकाले असार १६ गते सूचना प्रकाशित गरी हेल्थ असिस्टेन्ट तीन जना, अहेब आठ जना, अनमी नौ जना समेत गरी २९ जना स्वास्थय सेवामा कार्यरत कर्मचारी माग गरेको प्रमुख प्रशासकिय अधिकृत ध्रुबकुमार राईले बताउनुभयो ।

करारका कर्मचारी म्याद नथपी करारमै कर्मचारी माग गरेपछि स्वास्थ्य सेवामा समस्या आएको अधिकृत राईको भनाई छ ।

गजुरी गाउँपालिकामा समेत करारका कर्मचारीको म्याद थप नगरी नयाँका लागि विज्ञापन गरेपछि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

गजुरी गाउँ पालिकामा असार ३० गते २० जना स्वास्थ्य सेवाका कर्मचारी करारमा माग गरिएको छ । अघिल्लो स्थानीय सरकारले करार सेवामा राखेर काम लगाएका कर्मचारी सबैको म्याद थप नगर्ने र नयाँ राख्ने भनेपछि स्वास्थ्य सेवामा समस्या आएको प्रमुख प्रशासकिय अधिकृत ध्रुब सापकोटाले बताउनुभयो ।

ल्याब असिस्टेन्ट दुई जना, अनमी १० जना, अहेब सात जनासिहत पाँच ओटा स्वास्थ्य केन्द्रमा करारका कर्माचारीको म्याद थप नभएपछि कर्मचारी बिहीन बनेका छन् ।

गजुरी गाउँ पालिका वडा नम्बर २, ३, ४, ६ र ७ का आधारभूत स्वास्थ्य सेवा केन्द्रका कर्मचारी विहिन भएको र म्याद थप नभएका कर्मचारीलाई ज्यालामा काम गर्न अनुरोध गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाका सुन्दर श्रेष्ठले बताउनुभयो ।

करारमा राखिएका सबै कर्माचारीको म्याद थप नहुँद  ४ नम्वर वडा कार्यालय समेत कर्माचारी बिहीन भएको छ ।

पुन कर्मचारी करारमा भर्नाका लागि असार ३० सूचना जारि गरेकाले अझै कर्मचारी आउन १५/२० दिन समय लाग्ने भएकोले स्वास्थ्य सेवामा बढी असर परेको प्रमुख प्रशासकीय अधिकृत ध्रुब सापकोटाले बताउनुभयो ।

सामान्य मानवीय सम्वेदना समेत ख्याल नगरि मौलिक हक समेत हनन् गरेर गरिएको निर्णय मानव अधिकार विरोधी भएकोले स्वास्थ्य सेवा सुचारु गर्न सम्बन्धित निकायसँग गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य गोकर्ण रुपाखेतीले आग्रह गर्नुभयो ।


सीताराम अधिकारी