करारका कर्मचारीको सेवा अवधि नथपेको भन्दै गाउँपालिका कार्यालय तोडफोड, सात जना घाइते

  ०७९ साउन ३ गते

करारका कर्मचारीको म्याद नथप्ने गुराँस गाउँपालिकाको १० औँ गाउँसभाको निर्णयविरुद्ध म्याद नथपिएका कर्मचारीले असार ३१ गते गुराँस गाउँपालिका कार्यालय तोडफोड गरेका छन् ।

सो क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका गुराँस गाउँपालिका–३ का ३८ वर्षीय बखतबहादुर खत्री र कर्मचारीको आन्दोलनमा मिसिएका वडा नं. ३ खड्कवाडाका ५२ वर्षीय भवानी भट्टराईको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढा प्रहारबाट प्रहरी वरिष्ठ हवल्दार गोरख सुनार (३१), प्रहरी हवल्दारद्वय मोतिलाल सापकोटा (२८), रामबहादुर पुन (२७), प्रहरी सहायक हवल्दारद्वय भद्र बुढा (२४) र अर्जुन बिक (२३) घाइते भएकोले सुर्खेतस्थित प्रहरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर नरेश बिकले जानकारी दिनु भयो ।

असार ३१ गते भएको आन्दोलनको क्रममा गाउँपालिका कार्यालयका कुर्ची, टेबुल, कम्प्यूटर लगायतका भौतिक सम्पति तोडफोड गर्न लागेका आन्दोलनरत पक्षलाई रोक्न खोज्दा प्रहरी माथि ढुङ्गामुढा हुन थालेपछि बाध्यताले गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहको भनाई छ ।

घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ज्ञानमणी नेपालको संयोजकत्वमा छानविन समिति समेत गठन गरेको छ ।

जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धानका डिएसपी दिलबहादुर चौधरी, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष यज्ञराज थापा र शाखा अधिकृत भूपेन्द्र थापा सदस्य रहेको ५ सदस्यीय समितिले काम थालेको छ ।

गोली लागेर घाइते भएका प्रदर्शनकारीहरूको अवस्था, कार्यालय तोडफोड र प्रहरी माथि ढुङ्गामुढा भएको भनिएको सबै विषयको जानकारी लिएको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष थापाले बताउनु भयो ।

प्रदेश अस्पतालमा उपचार भइरहेका घाइते र प्रहरी अस्पतालमा उपचार गराइरहेका प्रहरी समेतलाई भेट्ने कार्यसूची रहेको उहाँले जानकारी दिनु भयो ।

Photodailekh20220718 (3)

Photodailekh20220718 (2)

Photodailekh20220718 (1)


अमर सुनार