कम्बल, थाल, कपडा बाँडेर अपाङ्गता दिवस मनाइयो

  ०७९ मङ्सिर १७ गते

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मङ्सिर १७ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न संस्थासहित इन्सेकले सप्तरीमा जनचेतनामूलक, अन्तक्रियात्मक कार्यक्रमहरु र सहयोग सामग्री वितरण गरेर मनाएका छन् ।

इन्सेकसहित राजविराज नगरपालिका, समावेशी अपाङ्ग संघ, बौद्धिक अपाङ्ग संघ र बौद्धिक अपाङ्गताका अभिभावक, अपाङ्ग संघ सप्तरी, सगरमाथा अपाङ्ग कल्याण संघले छुट्टा–छुट्टै स्थानमा कार्यक्रम गरेर मनाएका हुन् ।

‘समावेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान’ नारासहित मनाइएको अपाङ्ग दिवसमा वक्ताहरुले अपाङ्गता भएकाहरुको हकअधिकारका बारेमा बोल्नु भयो ।

राजविराज नगरपालिका ३ स्थित समावेशी अपाङ्ग संघको कार्यालयमा भएको कार्यक्रममा १२ जना अपाङ्गता भएकालाई जाडो छल्न कम्बल प्रदान गरियो ।

उक्त कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूप्रति स्थानीय तहको जिम्मेवारी मुख्य रहने भएकाले परिणाममुखी कामहरू गर्न इमान्दार प्रयास गरिने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी अविनारायण काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्रवर्द्धन गर्न र उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले नेपालमा अपाङ्गताको अधिकारमुखी आन्दोलन अगाडि बढे पनि ऐन, कानुनको कार्यन्वयन पक्ष फितलो रहेको गुनासो गर्नुभयो ।

अपाङ्गमैत्री वातावरण नभएको भन्नुहुँदै उहाँले अपाङ्गताको जनजीवन सहज बनाउन र उनीहरुको फरक क्षमताको सदुपयोग गर्न सरकार र गैर सरकारी निकायहरू मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

समावेशी अपाङ्ग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा समावेशी वौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, बौद्धिक अपाङ्ग संघका अध्यक्ष सुजितकुमार झा, आसमान नेपालकी रेणु सिंह, पत्रकार नरेशकुमार चौधरीलगायतले शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी राजविराज नगरपालिका ५ स्थित अपाङ्ग संघ सप्तरीको कार्यालयमा भएको कार्यक्रममा तीन दर्जन बढी अपाङ्गता भएका बालबालिका र जेष्ठ नागरिकलाई सर्ट, कापी, पेन्सिल, स्टिलको थाल र गिलास कलम वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सप्तरीले पब्लिक माध्यमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरूलाई सर्ट प्रदान गरेको छ । लक्ष्मी समुदाय अध्ययन केन्द्र कञ्चनरूपले कापी र बलपेन वितरण गरेको छ ।

यसैगरी अपाङ्गता भएकालाई धर्मी हल्फा संस्थाका अध्यक्ष सूर्यनारायण यादबले थाल, गिलास वितरण गर्नुभएको छ ।

अपाङ्ग संघ सप्तरीका अध्यक्ष बिरेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजो देवी यादबले अपाङ्गताहरूको क्षमता विकास, सीप तथा रोजगार मूलक कार्यक्रमका लागि आफूले आठ लाख रुपियाँ बराबरको बजेट छुट्याएको बताउनु भयो । राज्यले दिएको सुविधा सहज ढंगले पाउने तर नपाएको अधिकार प्रयोग गर्ने प्रयास पनि नगर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा खडक नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामाकान्त चौधरी, तिरहुत गाउँपालिकाका प्रशसकिय अधिकृत विशेश्वर यादव, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, पत्रकारहरु चन्दन यादव, बृजमान तमाङलगायतकाले अपाङ्गताको जीवनयापन सहज बनाउन र समस्या सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरमा मनाउने प्रचलन रही आएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ ।

उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभरि उठाउन सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९२ मा डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो ।

विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९७६ मा संयुक्त राष्ट्रसङ्घले सन १९८१ लाई “पूर्ण सहभागिता र समता” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको थियो ।

सन् १९८३ मा राष्ट्रसङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनस्र्थापना र रोकथाममा जोड दिँदै अपाङ्गतासम्बन्धी १० वर्षे विश्व कार्ययोजना पारित गरी लागू गरेको थियो ।

यसलाई विश्वभरि प्रभावकारीरूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरिएको थियो ।

सन् १९९२ मा अपाङ्गतासम्बन्धी १० वर्षे विश्व कार्ययोजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै त्यसै वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभरि मनाउन थालिएको हो ।

हरेक वर्ष यो दिवस एउटा मूल अन्तर्राष्ट्रिय नाराका साथ मनाउने गरिन्छ । नेपालमा पनि सन् १९९३ देखि विभिन्न कार्यक्रम गर्दै यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।
photo20221204saptari (1)

photo20221204saptari (2)

f

f

f

f

f

photo20221204saptari (8)

photo20221204saptari (9)

photo20221204saptari (10)


मनोहरकुमार पोखरेल