कमजोर बन्दै छ अनशन बस्नुभएकी बिनु यादवको स्वास्थ्य

जिल्ला प्रशासन कार्यालयको गेटमा ०८० माघ ७ गतेदेखि आमरण अनशनमा बस्नुभएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

खुल्ला आकासमुनी कार्यालय छिर्ने गेटको सडकमा म्याट ओछ्याएर अनशन बस्नुभएकी यादवले चार रात खुल्ला आकासमुनी नै पानी समेत नखाई काटिसक्नु भएको छ ।

जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेदको फैसला सुनाएको पति प्रदीप कठायतसँगको सम्बन्ध उच्च अदालतले कायम गरिदिएकोले पतिकै घरमा बस्न पाउनुपर्ने माग राखेर कठायतको मन्थली स्थित घरमा माघ ५ गते जाँदा परिवारले बस्न नदिएको भन्दै यादव जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्न पुग्नुभएको हो ।

सम्बन्ध कायम गर्ने उच्च अदालतको फैसला चित्त नबुझेर प्रदीपले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । सर्वोच्च अदालतको फैसला नआएसम्म बिनुलाई घरमा राख्न नसक्ने कठायत परिवारको भनाइ छ भने सर्वोच्च अदालतको फैसला नआउँदासम्म आफू प्रदीपकै पत्नी भएकोले घरमा बस्न पाउनु पर्ने माग बिनुको छ ।

शान्तिपूर्ण रूपमा घरमा बस्ने वातावरण मिलाइदिनु भनि राष्ट्रिय महिला आयोगबाट जिल्ला प्रशासन कार्यालयलाई पत्र लिएर आउनु भएकी यादवको विषयमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जनप्रतिनिधि, सरोकारवाला तथा दुवै पक्षलाई राखेर पटक पटक छलफल गराउँदा प्रदीपको परिवार अदालतको फैसला अनुसार बिनुलाई मासिक ९ हजार रुपियाँ दिन तयार भएको तर बिनुले सो रकम नलिने घरमा नै बस्न पाउनु पर्ने अडान राखेपछि दुई पक्षको विवाद मिल्न सकेको छैन ।

मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकोले आफूहरूले बल प्रयोग गरेर बिनुलाई घरमा राखिदिने अवस्था नभएको प्रमुख जिल्ला अधिकारीको भनाई छ । सर्वोच्च अदालतको फैसला नआउँदासम्म आफू प्रदीपकी पत्नी भएकोले पतिको घरमा बस्न पाउनु आफ्नो अधिकार भएकोले घरमा बस्न पाउनु पर्ने बिनुको माग छ ।

Photo_080-10-11_Ramechhap


नवराज घिमिरे