कमजोर आर्थिक अवस्था र जन्मदर्ता नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित

  ०७८ मङ्सिर २२ गते

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकाशको हक हुने व्यवस्था गरिएको भएपनि के.आई.सिं.गाउँपालिका–७ सलेनाका एकै परिवारका तीन जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

के.आई.सिं.गाउँपालिका–७ सलेनाकी एकल महिला काली नेपलीका १० वर्षीया छोरी खञ्जरी नेपाली, ६ वर्षीया छोरी गच्ची नेपाली र तीन वर्षीय छोरा पारश नेपालीको कमजोर आर्थिक अवस्था र जन्मदर्ता नभएकै कारण विद्यालय जानबाट वञ्चित भएका हुन ।

आर्थिक अवस्था दयनिय रहेकी काली नेपालीका पति रणबाहादुर नेपलीको ६ वर्ष अगाडी क्यान्सर रोगका कारण मृत्यु भएपछि पीडित नेपालीको मानसिक सन्तुलन बिग्रीएपछि उहाँका तीन छोराछोरी अलपत्र परेका हुन् ।
16 days campaignNepali

पतिको मृत्युपछि कालीकाले नागरिकता समेत बनाउन नसकेको र बालबालिकाहरुको जन्मदर्ताका लागि प्रमाण तथा कागजाग नहुँदा जन्मदर्ता समेत हुन नसकेपछि बालबालिकाहरु अपपत्र परेको स्थानीय दिपक भण्डारीले बताउनु भयो ।

लेखपढ गर्नु पर्ने उमेरका बालबालिका अलपत्र परेपछि विहान बेलुकीको छाक टार्न बजारमा पैसा मागेर गुजार चलाउन बाध्य भएका स्थानीय भण्डारीले बताउनु भयो ।

आमाको मानसिक सन्तुलन ठिक भएको समयमा छिमेकीहरुको काम गरेर गुजार चलाउँदै आउनु भएको भएपनि मानसिक सन्तुलन ठिक नभएको दिन भोकभोकै बस्नु परेको १० वर्षीया बालिका खञ्जरी नेपालीले दुखेसो पोख्नु भयो ।

आफूसँगैका साथीहरु विद्यालय जाने गरेको भएपनि दयनिय आर्थिक अवस्थाका कारण कापी, कलम, विद्यालय पोषाक किन्न नसकिएको र जन्मदर्ता पनि नभएकाे कारण विद्यालय जान नसकेको खञ्जरी नेपालीले बताउनु भयो ।

काली नेपालीका पतिको मृत्यु भएपश्चात परिवारका सदस्यहरुले नागरिकता बनाउन सहयोग नगरेका कारण काली नेपालीको नागरिकता बनाउन र उहाँका बालबालिकाको जन्मदर्ता गर्न नसकिएको केआइ.सिह गाउँपालिका–७ का वडाध्यक्ष हर्कबहादुर बिष्टले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अंश दिनु पर्छ भनेर परिवारका सदस्यले नागरिकता बनाउनका लागि सहयोग गरेका छैनन् । मैलै परिवारका अन्य सदस्यहरुलाई बोलाएर सहयोग गर्न पनि अनुरोध गरे । तर, उहाँहरुले सहयोग गरिरहनु भएको छैन् ।’

पीडित महिलासँग नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनु परेको र बालबालिकाहरुको जन्मदर्ता नभएका कारण सरकारले उपलब्ध गराउने पोषाक भत्ता, छात्रवृतिलगायतका सेवासुविधाबाट वञ्चित भएकाले नागरिकता बनाउन र जन्म दर्ता गर्न पहल गरिरहेको अध्यक्ष बिष्टको भनाइ छ ।


गणेश जोशी