कथित बोक्सी घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०८० असोज ८ गते

WhatsApp Image 2023-09-25 at 2.54.34 PM
पिपरा गाउँपालिका—३ की कथित बोक्सी घटनाकी पीडित ३२ वर्षीया काजल कुमारी देवी दासलाई ०८० असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षले उनको उपचारको लागि आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

पीडित दासलाई मानव अधिकार सहायता समितिका संयोजक राजकुमार महासेठले उक्त रुपियाँ हस्तान्तरण गर्नु भएको इन्सेकका फोकल पर्सन वरुण बस्यालले बताउनु भयो ।

पीडित दासलाई विगत केहि वर्षदेखि बोक्सीको आरोपमा कुटपिट गर्दै आएकोमा २०८० असार महिनाको पहिलो हप्ता धनुषा जिल्लाको मुखियापट्टी मुसहरनीयाँ गाउँपालिका—४ स्थित फेछा गाउँमा हनुमानको मन्दिरमा एकजना धामीकोमा लगी भुत प्रेत हटाउन १० दिन राखेको पीडितले बताउनु भयो । पति, सौता र सासूले १० दिन सम्म सो ठाउँमा रोखेको र सो अवधिमा दुई ओटा परेवाको बली र एक दिन कुभिण्डोको बली दिन लगाएको पीडितको भनाइ रहेको छ । पीडितका अनुसार धामीले यसको बोक्सी मैले ठिक गरेको भनेपछि आरोपितहरूले यो बोक्सी नै हो प्रमाणित भयो अब यसलाई घरमा लगेर ठिक पार्छु भनि घरमा ल्याएका थिए ।

पछिल्लो समय पति विनोद र सौता शिला देवी दासले ०८० असार ३१ गते दिउँसो र राती बोक्सीको आरोपमा मरनासन्न हुने गरी कुटपिट गरेको पीडित काजल कुमारी देवीले बताउनु भएको छ । पीडितलाई साउन १ गते बिहान आरोपित पति र सौताले झुण्ड्याएर हत्या गर्ने बताएपछि भागेर ज्यान जोगाई गाउँकै एक जनप्रतिनिधिको घरमा सरण लिन पुगेका थिए ।

पीडित काजल कुमारी देवी साउन १ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, महोत्तरीमा बोक्सीको आरोपमा पति विरुद्ध उजुरी दिन जाँदा प्रहरीले घरेलु हिंसाको निवेदन लेखेको र साउन २ गते घाउँ जाँच गराई साउन ४ गते दुबै पक्ष बीच छलफल गराएका थिए ।

छलफल रोकेर दुबै पक्षलाई बाहिर सहमति गरेर आउँन भनिएकोमा प्रहरी कार्यालय बाहिर झुक्याएर पति विनोदन कुमार दासले साउन ४ गते सम्बन्ध विच्छेदको कागजातमा सही छाप गराएको पीडित काजल कुमारी देवीले बताउनु भयो ।

विवाह भएदेखि आरोपित पति विनोद कुमार दासले कुटपिट गरी पाँच पटक गर्भपतन समेत गराई आफूलाई थाहै नदिइकन परिवार नियोजन गराइ दिएको पीडित काजल कुमारी देवीले दुःखेसो पोख्नु भयो ।

पीडितले उजुरी दिन जाँदा प्रहरीले नसुन्ने र उजुरी लिन नमानेका कारण उजुरी प्रक्रियामा सहयोग गर्न र न्यायका लागि पहल गर्न पीडितले इन्सेक मधेस प्रदेश संयोजक पासवानलाई अनुरोध गरेकी थिइन् ।


ममता विश्वकर्मा