कथित बोक्सी आरोपमा कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीय रफिदन खातुनलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ ।

पीडितको उजुरीका आधारमा आरोपित खातुनसहित निजकी छोरी २८ वर्षीया महिरुन खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो. आलम मियाँ, ३५ वर्षीया जमिला खातुन र ५२ वर्षीय भुवन साहविरुद्ध माघ २० गते गर्भपतन मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई हरी खडकाले जानकारी दिए ।

माघ १४ गते घर निर्माण गरिरहेका बेला आरोपितहरूले कथित बोक्सीलाई आफ्नो घर छेउमा घर बनाउन नदिने भन्दै कुटपिट गर्दा माघ १८ गते पाँच महिनाको गर्भपतन भएको पीडितले बताइन् । पीडितको नकटी रायपुरस्थित प्रहरी क्षेत्रीय अस्पताल र युनिक अस्पतालपछि हाल राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गर्भपतन भएको भ्रुणको पोस्टमार्टमका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।


मनोहरकुमार पोखरेल