कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० कात्तिक १६ गते

गौशाला नगरपालिका–११ लक्ष्मीनिया की ६६ वर्षीया इतरिया देवी रामलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले ०८० कात्तिक १५ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनु भएको छ ।

कथित बोक्सी आरोपमा ०८० कात्तिक १४ गते इतरिया देवी रामसँगै उनका पति ७५ वर्षीय रजिन्द्र राम, ३० वर्षीय छोरा देवेन्द्र राम, ३८ वर्षीय सुरीन्द्र राम, बुहारी २४ वर्षीया सुन्दर देवी राम, २३ वर्षीया सन्तोलिया देवी रामलाई कुटपिट गरिएको हो ।

कुटपिट घटनामा सोही ठाँउका ५५ वर्षीय राम केवल महतो, उनकी पत्नी ५० वर्षीया सुहागिन महतो, छोरी १८ वर्षीया लिलावति महतो, २० वर्षीया लाब्दी महतो, ४० वर्षीय नथुनी यादव, उनकी १६ वर्षीया छोरी अञ्जली यादव, १२ वर्षीया फर्टी यादव, १० वर्षीया सिमा यादव, २६ वर्षीय सन्तोष यादव, उनकी २४ वर्षीया पत्नी मन्जु यादव, ६० वर्षीया आमा फूलो देवी, ४५ वर्षीय विनोद पासवान, उनकी ३७ वर्षीया पत्नी फूलो देवी पासवान, १८ वर्षीया छोरी रुबी पासवान, २० वर्षीया ममता पासवान, १६ वर्षीया सुवी पासवान, १४ वर्षीया काजल पासवान, ६५ वर्षीय कपल यादव, मालति यादव संलग्न रहेको जिल्लन चमार समाजका अध्यक्ष प्रकाश महराले जानकारी दिनु भयो ।

उक्त घटनाका आरोपित विनोद पासवान, रामकेवल महतो, संतोष यादव, नथुनी यादव गरी चार जनाविरद्ध ०८० कात्तिक १५ गते पीडितले इलाका प्रहरी कार्यालय गौशलामा उजुरी दिएको असई दिपेन्द्र जयसवालले जानकारी दिनु भयो । जस मध्ये विनोद पासवान, संतोष यादव अहिले प्रहरी हिरासतमा छन् । अन्य आरोपितहरु फरार रहेकोले खोजि कार्य भइरहेको जयसवालले बताउनु भयो ।

कुटपिट घटनाका पीडित इतरिया देवी रामको दाहिने हात भाँचिएको छ, उनको छोरा सुरीन्द्र रामको टाउको र बुहारी सुन्दर देवी रामको ढाँडमा गम्भीर चोट लागेको छ । घाइतेहरुको गौशाला स्वास्थ्य चौकीमा सामान्य उपचार भइ थप उपचारको लागि जनकपुर स्थित सहयोगी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर मनोज कुमार यादवले बताउनु भयो ।

यस अघी पनि ०८० असोज २७ गते बोक्सीको आरोपमा लाब्दी महतोले आफूलाई कुटपिट गरेको भन्दै पीडितले ०८० असोज २८ गते इलाका प्रहरी कार्यालय गौशालामा निवेदन दिएकोमा र छलफका लागि कात्तिक १७ गते बोलाइएको इन्सपेक्टर मनोज कुमार यादवले जानकारी दिनु भयो । घटना बारे सत्य तथ्य अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाउने यादवले बताउनु भयो ।


ममता विश्वकर्मा