कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

बोक्सीको आरोप लगाउने घटनाका आरोपित राजापुर नपा-८ का ४९ वर्षीय कृष्ण जैसी र ४७ वर्षीय तीर्थराज जैसीलाई प्रहरीले जेठ २२ गते घरैबाट गिरफ्तार गरेको छ ।

आरोपित कृष्ण जैसी, तीर्थराज जैसी र जयाप्रसाद जैसीविरूद्ध कथित बोक्सीको आरोप लगाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय राजापुरमा दिएको उजुरी जेठ २३ गते दर्ता भएको प्रहरीले जनाएको छ ।

घटनाका अर्का आरोपित सोही ठाउँका ४० वर्षीय जयाप्रसाद जैसी फरार रहेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजापुरमा राखिएको डिएसपी सूर्यबहादुर केसीले बताए ।

आरोपितहरूले राजापुर नपा-८ का ५९ वर्षीय रङ्गप्रसाद जैसी र उनको स्व. आमा जेठ ६ गते बोक्सी तथा बोक्सो भएको र भुत लागेर दुःख दिएको विषयमा इलाका प्रहरी कार्यालय राजापुरमा जेठ २२ गते उजुरी दिएका छन् ।

मरेपछि पनि रङ्गप्रसादको आमाले भैँसी मार्ने गरेको, बोक्सी लगाई घरमा आगो लगाएको, चोरी भइरहेको भन्ने आरोप लगाएको रङ्गप्रसादले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी सूर्यबहादुर केसीले बताए ।

बर्दिया जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले आरोप प्रमाणित भए ५ वर्षकैद र १ लाख रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था रहेको बताए ।


मानबहादुर चौधरी