कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ६ गते

औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सोही ठाउँका २८ वर्षीय घुरन साहलाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

‘वैशाख २ गते मधेशको जुड शितल पर्वको अवसरमा बिहान आशिर्वाद स्वरुप भतिजाहरूलाई टाउकोमा पानी हाल्न गएको थिएँ । के कति कारणले उनीहरूको गाई मरेको हो मलाई थाहा छैन । वैशाख ४ गते बिहानै तिमीले नै टुनामुना गरी गाई मारेको भन्दै भतिजा घुरन र बुहारीहरू ४८ वर्षीया सुर्जी साह, ४० वर्षीया कोशिला साह र २७ वर्षीया सरिता साहले कुटपिट तथा गालिगलौज गरी अभक्ष समेत कोच्याए ।’–पीडित हिरादेवीले भन्नु भयो ।

घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख ५ गते दिएको पीडितले बताउनु भएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपित घुरनलाई गिरफ्तार गरेको र अन्य आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले बताउनु भयो ।


दुर्गा परियार