कथित बोक्सीको आरोपमा बुहारीलाई कुटपिट

  ०७४ कात्तिक ६ गते

नौकुण्ड गाउँपालिका-५ खाल्चेतकी ३७ वर्षीया राधा घलान तामाङलाई कथित बोक्सीको आरोपमा ५२ वर्षीय जेठाजु सन्तबहादुर घलान तामाङ, उनका छोरा २० वर्षीय सन्तोष घलान र विशाल घलान समेतले कात्तिक १ गते राति ९:३० बजे कोदालोको समेत प्रयाग गरी कुटपीट गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलाको उपचार काठमाडौँ बसुन्धरास्थित ग्रिनसिटी अस्पतलमा भइरहेको पीडित पक्षले जनाएको छ ।

यसअघि पनि पटकपटक मानिस, भैँसी, गाई बिरामी पारेको आरोप लगाउँदै आरोपितहरूले दुर्व्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ ।

घरमा ढुङ्गामुढा समेत गरी छोराले समातेर कुटपिट गरेको पीडितका पति कृष्णबहादर घलानले बताए । कालिकास्थान प्रहरी चौकीमा कात्तिक ३ गते उजुरी परेपछि सोही दिन सन्तबहादुर र सन्तोषलाई गिरफ्तार गरिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।


हेमनाथ खतिवडा