कथित बोक्सीको आरोपमा दम्पतिमाथि कुटपिट

  ०७४ फागुन १५ गते

यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र राय यादव, ३६ वर्षीय सुनिल राय यादव र ३२ वर्षीय मुकेस राय यादवले फागुन १३ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।

यादव दाजुभाइहरूले पीडित कान्तीदेवीका पति रामस्वरुप ठाकुर हजामलाई 'तेरो श्रीमती बोक्सी भएका कारण हाम्रा बालबच्चा बीरामी परेका छन, त्यसलाई यहाँ उपस्थित गरा' हामी मारेर फालिदिन्छौं भन्दै कुटपिट गरी घाइते बनाएपछि पीडित कान्तिदेवी आफ्नो पतिलाई बचाउन जाँदा उनलाई समेत आरोपितहरूले कुटपिट गरी घाइते बनाई मलमुत्र खुवाउने प्रयास गरेको पीडितले बताइन् ।

कुटपिटबाट घाइते दुवैजनाको उपचार गौर अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । घाइते दुवैजनाको शरीरको भित्री भागमा गम्भीर चोटपटक लागेकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको र उनीहरूको अवस्था अझै गम्भीर रहेको गौर अस्पतालका अहेव पङ्कज ठाकुरले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले उक्त घटनामा पीडितको ठाडो उजुरी दर्ता गरी आरोपित व्यक्तिहरूलाई गिरफ्तार गरी कुनै कारवाही नगरी रिहा गरेको पीडितहरूले आरोप लगाएका छन् ।

कुटपिटबाट घाइते भएका ठाकुर दम्पतिले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा कथित बोक्सीको आरोपमा कुटपिट गरेको भनी उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिई ठाडो उजुरी मात्र दर्ता गरेको पीडितहरूले गुनासो गरेका हुन् ।

प्रहरीले पीडितहरूको घाउ जाँच केश फारामको लागि मात्र निवेदन दर्ता गरेपनि उक्त निवेदनमा स्पष्ट रूपमा कथित बोक्सीको आरोपमा कुटपिट गरेको भनी उल्लेख गरिएको छ ।

घाउ जाँच केश फारामको लागि निवेदन दर्ता गरी प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याएकोमा कुनै कारवाही नगरी छाडिएको पीडित रामस्वरुप ठाकुरले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले कथित बोक्सीको आरोप जस्तो सम्वेदनशील मुद्दामा आरोपितले उन्मुक्ति नपाउने बताउँदै दोषीलाई कानुनी कारवाही गरिने प्रतिवद्धता जनाएका छन् ।


विपीन गौतम