कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही ठाउँकी २८ वर्षीया बाटुली कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुस २२ गते उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले 'बोक्सी'को आरोप लगाउँदै घरमा बसिरहेको अवस्थामा पुस २२ गते बिहान टाउकोमा दाउराको चिर्पट प्रहार गरेर घाइते बनाएको पीडितलाई उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालयमा असई सत्यनारायण यादवले जानकारी दिए ।

पीडित महिलाको टाउकोमा गम्भीर चोट लागेकाले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको टाउकोमा ६ टाँका लगाइएको जिल्ला अस्पताल गुल्मीले जनाएको छ ।

घटना लगत्तै आरोपित फरार रहेकाले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।


टोपलाल अर्याल