कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैदको फैसला

धनौरी-१ चिलहरियाकी ६५ वर्षीया दिव्या चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा धनौरी-१ चिलहरियाका ३१ वर्षीय हरि चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर २ गते अभियोगमा दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।

पीडित महिलालाई आरोपितले ०७३ वैशाख ८ गते कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा पीडितले वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएकी थिइन् ।

कुटपिटका कारण पीडित महिलाको बङ्गारा भाँचिएको थियो । घटना लगत्तै वैशाख ८ गते नै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि पीडित महिलाको थप उपचार काठमाडौँको कान्तिपुर डेन्टल हस्पिटलमा गरिएको थियो ।

आरोपितलाई ६ महिना कैदको फैसला गरिएपनि उनी वैशाख ८ गतेदेखि नै फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माले बताए ।


जे.एन.सागर