कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नीलकण्ठ नगरपालिका–९ पाल्पाभञ्ज्याङ की ५३ वर्षीया छबिकुमारी लम्साललाई सोही ठाउँकी ३२ वर्षीया गीता अधिकारीले कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै पीडितले आरोपित विरूद्ध वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गराएकी छिन् ।

पीडित महिलालाई आरोपितले विगत तीन वर्षदेखि धारामा पानी लिन जाँदा कथित बोक्सीको आरोप लागाएर आफूमाथि आक्रमण गर्ने, पानी लिन लगेको भाँडा फालिदिने तथा ज्यान मार्ने धम्की दिने र ‘बोक्सी’ भनेर पटकपटक कुटपिट समेत गरेको पीडित महिलाको आरोप छ ।

पछिल्लो पटक वैशाख १६ गते धारामा पानी लिन जाँदा बोक्सी भन्दै ढुङ्गाले हानेर घाइते पारी मार्ने सम्मको धम्की दिएकाले आफ्नो ज्यानको सुरक्षाको साथै आरोपितलाई कारवाही गर्न माग सहित प्रहरीमा उजुरी दर्ता गराएको पीडित पक्षले जनएको छ ।

उक्त घटना पछि आरोपित र पीडित दुवैलाई राखी गाउँबासीले गाउँमै बसेर वैशाख १७ गते छलफल गर्दा गाउँबासीले आरोपितलाई पीडितको उपचारका लागि खर्च रकम दिन अनुरोध गर्दा समेत नमानेपछि उजुरीको लागि प्रहरी कार्यालयमा आएको पीडित पक्षले जनायो ।

चोटपटकबाट घाइते भएकी पीडितको उपचार वैशाख १६ गते जिल्ला अस्पतालमा गरिएको छ । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपित र पीडित दुवै पक्षलाई राखेर घटनाबारे अनुसन्धान तथा छलफल गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।


सीताराम अधिकारी