कथित बोक्सीको आरोपमा कुटपिट घटनाको प्रहरीले उजुरी लिएन

कथित बोक्सीको आरोपमा कुटपिट गरिएको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले  पत्रकार सम्मेलनमार्फत कात्तिक २५ गते घटना सार्वजानिक गरेको छ ।

सबैला नपा–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कथित बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । तर, आजसम्म उजुरी दर्ता नगरी आलटाल गरेको पीडित पक्षको आरोप छ । प्रहरीले घटनाको बारेमा नबुझी उल्टै आफूलाई नै अनावश्यक दबाब दिएको पीडित खातुनले पत्रकार सम्मेलनमा बताइन् ।

कथित बोक्सीको आरोपमा जुलेखा खातुनलाई सबैला नपा–१२ की ४० वर्षीया खैतून खातुन सोही ठाउँका २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनसमेतले कात्तिक १३ गते कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । कुटपिटबाट बायाँ आँखामा चोट लागेकाले १० दिन पछि आँखाबाट पट्टि खोलेको बताइन् ।

पीडितलाई आँखा, छाति, पेट, पिठ्यूँ र गुप्ताङ्गलगायत शरीरका विभिन्न अङ्गमा लाति र मुक्का प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । पीडितको उपचार जनकपुर अञ्चल अस्पालमा भइरहेको छ ।

समान्य कुटपिट भएको घटनामा कथित बोक्सीको आरोपमा उजुरी दर्ता गर्नु उचित नहुने र घटना भएपछि आफूलाई जानकारी नगराएको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर अवधलाल यादवले बताए ।


विनोदकुमार रविदास