कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको घटनाप्रति महिला आयोगको ध्यानाकर्षण

बीरगञ्ज महानगरपालिका-८ पानीट्याङ्कीकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई असोज ८ गते आफ्नै घरको कोठा भाडामा बस्ने सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारी तथा निजका परिवारका सदस्यसमेतले कथित बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गरेको घटनाप्रति राष्ट्रिय महिला आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महिला आयोगले असोज २६ गते जारी गरेको विज्ञप्तिमा यस प्रकारको क्रूर, अमानवीय तथा सामाजिक कुरीतिजन्य अपराधको घोर भत्सर्ना गर्दै मानवताविरुद्धको यस घटनाको यथाशीघ्र प्रभावकारी तथा पारदर्शिताका साथ छानबिन गरी घटनामा सङ्लग्न दोषीउपर कडा कारबाहीको माग गरिएको छ ।

यस्तै शिक्षण अस्पतालमा उपचार गराइरहेकी पीडितलाई आवश्यक उपचार तथा क्षतिपूर्ति प्रदान गर्न र महिलामाथि हुने कुनै पनि हिंसा हुन नदिन, हिंसापीडित महिलाको विशेष सुरक्षा र सामाजिक पुनः स्थापना गर्न आयोगले सरकारसँग माग गरेको छ ।


सुभाष साह