कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

  ०७३ मङ्सिर १७ गते

त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६ गते कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरीमा उजुरी दिएको छ ।

कथित बोक्सी लगाएपछि छोरा मिनबहादुर कुलाल बिरामी भएको आरोपमा आरोपितद्वयले 'बोक्सी' भन्दै अमानवीय व्यवहार गरेको पीडितले बताइन् । पीडितले घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी त्रिपुराकोटमा मङ्सिर १६ गते उजुरी दिएकी हुन् ।

प्रहरीले आरोपितद्वयलाई मङ्सिर १६ गते नै गिरफ्तार गरी मङ्सिर १७ गते प्रहरी चौकीमा उपस्थित हुने शर्तमा रिहा गरेको प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले बताए ।

प्रहरी चौकी त्रिपुराकोटमा मङ्सिर १७ गते दुवै पक्षलाई झिकाएर छलफल गराउँदा सुन्तली र जङ्गेले गल्ती स्वीकार गर्दै 'आइन्दा यस्तो आरोप लगाउने छैन' भनी कागज गराई मिलापत्र गराएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।


विष्णु देवकोटा