कडा सुरक्षाकाबिच स्थगित मतदान जारी

  ०७९ जेठ १ गते

कुटपिट र विवादपछि स्थगित भएको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको दुई ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाकाबिच पुनः मतदान जारी छ ।

अपाङ्गता भएकी महिलाले जसपाको चिन्हमा स्वस्तिक छाप लगाउन भन्दा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिन्हमा छाप लगाएको भन्दै आक्रोशित समूहले उनलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेपछि सर्वदलीय बैठकको निर्णयअनुसार जेठ १ गते मतदान भइरहेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनु भयो ।

मतदान अधिकृत विपिन यादवलाई वैशाख ३० गते आक्रोशित मतदाताले कुटपिट गरी मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेपछि स्थगित भएको निर्वाचन सम्पन्न गर्न राजु शर्मालाई मतदान अधिकृत बनाइएको हो ।

डाक्नेश्वरी नगरपालिकामा २१ मतदानस्थलको ३७ मतदान केन्द्रमध्ये वैशाख ३० गते विवाद हुँदा वडा नम्बर–२ स्थित जनता मावि हरिराहामा रहेको दुई ओटा मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा सुरक्षाका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ ।

कुल १ हजार ५ सय ५९ मतदाता रहेको यस मतदानस्थल क्षेत्रको सुरक्षामा ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाको गाडीले समेत टाढाबाट गस्ती गरिरहेको छ । सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व–पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने डाक्नेश्वरी नगरपालिकामा १० ओटा वडा छन् । उक्त नगरपालिकामा प्रमुखमा आठ जना र उपप्रमुखमा सात जना प्रतिस्पर्धामा उत्रिएका छन् ।


मनोहरकुमार पोखरेल