कञ्चनपुर घटनाको विरोधमा भारतीय नम्बर प्लेटका गाडीमा आगजनी, ठाउँठाउँमा विरोध

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा फागुन २६ गते भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाको विरोधमा फागुन २७ गते देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिएको छ ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार कञ्चनपुर घटनाको विरोधमा फागुन २७ गते प्रदर्शनकारी नारा जुलुससहित गौरीफण्टा नाकामा पुगेका थिए ।

Photo20170310Kailali

नेपाल प्रहरीले अप्रिय घटना हुन नदिनको लागी प्रदर्शनकारीलाई नाका पार गर्नबाट रोक लगाएतापनि प्रदर्शनकारीले नमानेपछि प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको जनायो ।

Photo20170310Kailali1

निर्दोष नेपालीलाई मार्न नपाइने, मृतकलाई शहीद घोषण गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै विभिन्न पार्टीका सङ्गठन तथा पार्टीका भातृ संस्था र युवाहरूको सञ्जाललगायत स्थानियबासीहरू आन्दोलनमा उत्रेका थिए ।

घटनाको विरोधमा आह्वान गरिएको सुदूरपश्चिम बन्दका कारण विद्यालय, यातायातका साधनहरू, बजार बन्द भएपछि जनजीवन प्रभावित भएको छ ।

Photo20170310Kailali2

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नारायणगढ स्थित कमलनगरमा एक भारतीय नम्बरको ट्रकमा फागुन २७ गते दिउँसो अज्ञात समूहले आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाका अनुसार मोटरसाइकलमा आएका १२ जना जति युवाको समूहले कमलनगरमा पार्किङ गरिराखेको अवस्थामा ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका हुन् ।

आगजनीबाट यूपी ५३ वीडी २१८७ नम्बरको भारतीय ट्रकको अघिल्लो भागमा क्षति पुगेको छ । आगजनी गर्नेहरूको खोजी भइरहेको एसपी थापाले बताए ।

सुनौलीबाट खसी लिएर नारायणगढ आएको ट्रकमा आगजनी भएको र आगजनीका कारण थाहा नभएको प्रहरीले जनाएको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार भारत फैजावाद निवासी श्रवणकुमार शर्माको यूपी ८३ एक्स ४५२९ नम्बरको कार कोहलपुरमा पार्किङ्मा रहेको अवस्थामा फागुन २६ गते राति अज्ञात समूहद्वारा आगजनी गरेको प्रहरीले जनाएको छ ।

कोहलपुरस्थित होटल पप लाईफ अगाडि पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले बताए ।

चुरा व्यापारी शर्माले व्यापारको सिलसिलामा होटल पप लाइफमा बसेको र कार पार्किङमा राखेकोबेला आगजनी भएको बताए ।

कञ्चनपुरमा नेपाल भारत सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपालीको हत्या भएको घटनाको विरोधमा आगजनी भएको आशङ्का गरिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले होटलको सिसि क्यामेरा चेक भइरहेको बताउँदै आगजनी कसले र किन गरेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र सिंह कार्कीका अनुसार कञ्चनपुर घटनाको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सत्तारुढ एकीकृत नेकपा माओवादी केन्द्रले आह्वान गरेको बन्दका कारण शिक्षण संस्थाहरू बन्द रहे भने बजार आङ्शिक रूपमा बन्द रहेको थियो ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार तुलसीपुरमा अज्ञात समूहले भारतीय नम्वर प्लेटको गाडीमा आगजनी गरेको छ । नम्वर नखुलेको मोटरसाइकलमा आएका दुईजनाको एक समूहले फागुन २६ गते साँझ फलफूल लिएर तुलसीपुरबाट घोराहीतर्फआउँदै गरेको युपी ४० पी ४४२४ नम्वरको मिनी ट्रकलाई तुलसीपुर नपा-१३ पर्सेनीमा रोकेर आगजनी गरी भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी भुवनेश्वर तिवारीले बताए ।

चालकलाई बाहिर निकालेर आगजनी गरिएको र आगोले इन्जिनमा क्षति पुगेको प्रहरीले जनायो । प्रहरी र दमकलले आगो निभाइएको र आगजनी गर्नेहरूको खोजी भइरहेको डिएसपी तिवारीले बताए

यसैबिच जवाफदेहिता निगरानी समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना अत्यन्तै खेदपूर्ण र आपत्तिजनक भएको जनाएको छ ।

'सीमा क्षेत्रमा विदेशी सुरक्षा वलको प्रवेशसम्बन्धी विश्वव्यापी नियम छ । जसले विदेशी भूमिमा उनीहरूको प्रवेश र कारबाहीलाई निषेध गरेको छ । आफ्ना नागरिक पछि लगाएर भारतीय सुरक्षा वलले नेपाल सरहद भित्र प्रवेश गर्नु, नेपाली नागरिकहरूको बस्ती भित्रै छिरेर कुटपिट गर्नु र नेपालीहरूले आफ्नो सिमामा बनाएको कच्ची कल्भर्ट भत्काईदिनु जस्ता कार्य हामी दुइ देश बीचको पारम्परिक, सांस्कृतिक र जनस्तरको अन्तरसम्बन्धित सौहार्दपूर्ण सम्बन्धलाई अपमानित गर्ने प्रकारको भएको हाम्रो ठहर छ ।'-विज्ञप्तिमा भनिएको छ ।

फोटोः रविना चौधरी


अनलाइन डेस्क