कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या

  ०७९ भदौ २ गते

ताजाँकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालय भवनलाई पहिरोले जीर्ण बनाएपछि विद्यार्थी पानी जमेको कक्षा कोठामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । गत वर्ष साउनमा परेको अविरल वर्षातका कारण उक्त भवनमा क्षति पुगेपनि सोही भवनका कोठामै बसेर अध्ययन गर्दै आएको कक्षा १० मा अध्ययनरत छात्रा शान्ति शर्माले गुनासो गर्नु भएको छ ।

छात्रा शर्माका अनुसार गत वर्ष आधा भवन पहिरोले भत्काएर जोखिम भएको थियो । यो वर्ष पनि पानी परेर कक्षाकोठा नै ताल बनेको उहाँको भनाई छ । राति पानी परेपछि भवनको भित्ताबाट पानी कक्षाकोठामा पसेर तालजस्तै भएको कक्षा १० मै अध्ययनरत अस्मिता शाहीले बताउनु भयो ।

गत वर्षको पहिरोले आधा भवन पुरेपछि जीर्ण अवस्थामा रहेको विद्यालयका प्रद्यानाध्यापक गङ्गादत्त जैसीले बताउनु भयो । बाढी पहिरोबाट जीर्ण भएका भवनमै जोखिमयुक्त अवस्थामा अध्यापन गराइरहेको जैसीको भनाइ रहेको छ ।

दुई वर्षअघिदेखि थप दुई ओटा भवन निर्माणको काम सुरु गरिएको भए पनि ठेकेदारहरूले ढिलासुस्ती गर्दै आएका छन् । ठेकेदारले समयमै विद्यालय भवन निर्माण नगर्दा विद्यार्थी पानी जमेको जीर्ण भवनमै अध्ययन गर्न बाध्य छन् । विद्यालय भवन निर्माणको जिम्मा लिएका ठेकेदार धर्मराज बुढाले कोभिडका कारण समयमै जिल्ला बाहिरबाट निर्माण सामाग्री ढुवानी हुन नसकेका कारण केही ढिलाई भएको स्वीकार्नु भएको छ ।

सोही विद्यालयको विषयमा ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले आफु नवनिर्वाचित अध्यक्ष भएकाले सबै जानकारी लिन बाँकी नै छ । उक्त विद्यालय निर्माणका लागि तत्काल निर्देशन दिने प्रतिवद्धता जनाउनु भयो ।

Photohumla20220818 (1)

Photohumla20220818 (2)

Photohumla20220818 (3)

Photohumla20220818 (4)

Photohumla20220818 (5)

Photohumla20220818 (6)


नन्द सिंह