औषधि उपचार खर्च नपाएको पीडितको गुनासो

तातोपानी गाउँपालिका – ५ लाम्राका २७ वर्षीय मनोज सार्कीले अदालतको फैसलापछि पनि औषधि उपचार खर्च नपाएको गुनासो गर्नु भएको छ । जिल्ला अदालत र उच्च अदालत सुर्खेत जुम्ला इजलासले जिल्ला समन्वय समिति जुम्लाको नाममा पीडितलाई औषधि उपचार खर्च उपलब्ध गराउनु भनि फैसला गरेपनि लामो समयसम्म नपाएको उहाँले बताउनु भयो ।

जिल्ला समन्वय समिति कार्यालय जुम्लाको नाममा रहेको क १ ब ५ नम्बर को सरकारी मोटरसाइकल ०७६ जेठ ५ गते दुर्घटनामा गम्भीर घाइते भएको पीडितले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिमा करारमा कार्यरत कार्यालय सहयोगी सोही वडाका २५ वर्षीय प्रकाश सार्कीले रक्सी सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पछि लामो समयसम्म नेपालगञ्ज मेडिकल कलेजमा उपचार भयो । उपचारमा ७ लाख २५ हजार ४२३ रुपैयाँ खर्च भएको थियो । अहिले शारीरिक रूपमा असक्त रहेको उहाँले बताउनु भयो ।

सोही औषधि उपचार खर्च उपलब्ध गराउने जिल्ला अदालत जुम्लाले ०७८ भदौ ९ गते र उच्च अदालत सुर्खेत जुम्ला इजलासले जिल्लाको फैसला सदर हुने गरी ०७९ फागुन २५ गते फैसला गरेको थियो । घटनाका पीडितले जिल्ला अदालत जुम्लामा ०७६ जेठ १० गते जिल्ला अदालत जुम्लामा उजुरी दर्ता गरिएको बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार औषधि उपचार सवारी ज्यान मुद्दामा पीडितलाई क्षतिपूर्तिबापत झन्डै ७ लाख रुपियाँ दिलाइदिन भएको फैसला कार्यान्वयन गर्न बजेट नभएकाले बजेट उपलब्ध गराइदिन भन्दै अर्थ मन्त्रालयका विभिन्न शाखामा पुगेर हारगुहार गरिरहेका छौँ   । उहाँले भन्नुभयो ‘जिल्ला समन्वय समितिको कोषमा रकम नभएको तथा क्षतिपूर्तिबापत रकम दिलाउन अदालतको पत्राचारसँगै पीडितकी आमाले दिनहुँ कार्यालयमा आएर रकम माग गर्दै आएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म धाए पनि बजेट उपलब्ध गराउने प्रावधान नरहेको बुझिएको छ । ’


मानदत्त रावल