औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

  ०७८ साउन २४ गते

खत्याड गाउँपालिका—१ मसानेमा रहेको स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

एक महिनादेखि ज्वरो  र पखाला लागेर स्वास्थ्य चौकी जाँदा औषधि नपाएर दुई घण्टा टाढा माथिचौरको  निजी मेडिकलमा औषधि किन्न बाध्य भएको खत्याड गाउँपालिका—१ का ६० वर्षीय बाँचबहादुर बुढाले गुनासो गर्नुभयो ।

यसैगरी बिरामी भएर साउन १९ गते स्वास्थ्य चौकीमा जाँदा औषधि नभएको भनेपछि फर्किएको सोही वडाको निगालबोटकी २८ वर्षीया सीता बुढाले बताउनु  भयो ।

एक महिना देखि औषधि अभाव भएपछि आवश्यक औषधिका लागि खत्याड गाउँपालिकाको स्वास्थ्य शाखामा मागफारम पठाएको स्वास्थ्य चौकीका इन्चार्ज नन्दलाल बुढाको भनाइ छ ।

खत्याड पुग्ने सडक विभिन्न ठाउँमा भत्किएकाले समयमै औषधि ढुवानी गर्न नसकिएको खत्याड गाउँपालिका स्वास्थ्य शाखा संयोजक टक्क डाँगरले बताउनु भयो ।


जीवन सेजुवाल