औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

  ०७८ असोज २७ गते

मुगुम कार्मारोङ गाउँपालिकाको सामुदायिक अस्पतालमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन ।

मुगुम कार्मारोङ गाउँपालिका—५ रिउस बगरमा रहेको १५ शैयाको सामुदायिक अस्पतालमा एक साताबाट औषधि अभाव हुँदा अस्पतालमा उपचार गर्न आउने सेवाग्राही मर्कामा परेका हुन ।

मुगुम कार्मारोङ गाउँपालिका—५ का ४३ वर्षीय सोनाम लामाले अत्यधिक ज्वरो आएपछि उपचारका लागि अस्पतालमा पुग्दा औषधि नभएको भन्दै स्वास्थ्यकर्मीले फर्काएको दुःखेसो पोख्नुभयो ।

औषधि नपाइएपछि हाल ९ ओटा वडाका स्थानीयहरू डेढ घण्टा हिडेर पुलु बजारबाट औषधि लिनु परेको लामाले बताउनुभयो ।

यसैगरी एक सातादेखि तीन वर्षीया बिरामी छोरीलाई लिएर जाँदा औषधि नभएको भन्दै उपचार उपाएको सोही गाउँपालिका—५ की ३६ वर्षीया पेमा यन्जुन लामाले बताउनुभयो ।

ज्वरो, रूघाखोकी, झाडापखाला र निमोनियाका बिरामी दिनहुँ १० देखि १५ जना अस्पतालमा सेवा लिन आउने गरेको सामुदायिक अस्पताल रिउसका डाक्टर भबिन्द्र कार्कीले जानकारी दिनुभयो ।

डाक्टर कार्कीका अनुसार अस्पतालमा दुई हप्तादेखि सिटामोल, बालबालिकाहरूलाई खोकि लाग्दा आवश्यक पर्ने कपसिरप, मेट्रोलगायतका औषधि अभाव भएको जानकारी दिनुभयो ।

आवश्यक औषधि माग गर्न गाउँपालिका स्वास्थ्य शाखामा अनुरोध गरेको  पनि डाक्टर कार्कीको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखा निरीक्षक बली बुढाले अस्पतालमा औषधि अभाव भएको विषयमा जानकारी आएको भन्दै औषधि आपुर्तिका लागि खरिद प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

औषधि सदरमुकाममा आइसकेको र केही दिनमा अस्पतालमा पुर्‍याइने बुढाले बताउनुभयो ।


जीवन सेजुवाल