औषधि अभावका कारण सेवाग्राही मर्कामा

  ०७६ साउन १५ गते

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा समावेश गरेतापनि उचित औषधि उपचारको अभावका कारणले बिरामीहरूलाई स्वास्थ्य सेवा लिन कठिनाई हुनुका साथै सामान्य औषधिको लागि समेत घण्टौँ लाएर निजी क्लिनिकसम्म धाउनु परेको गुनासो सेवाग्राहीले गरेका छन् ।

कालिका गाउँपालिकाको राम्चे स्वास्थ्य संस्थामा ३८ प्रकारका औषधि निःशुल्क हुनपर्ने सरकारी प्रावधान भए पनि सो अनुरूप औषधि स्वास्थ्य संस्थामा नरहेको कालिका गाउँपालिका राम्चे-१ का ४५ वर्षीय पेम्पा तामाङले गुनासो गरे ।

'स्वास्थ्य चौकीमा जाँदा औषधि सकिएको खबर पाइयो निःशुल्क औषधि उपचार त नारा मात्र भयो ।'- उनले भने ।

सामान्य जीउ दुखेको, ज्वरो, आँखाको समस्या, पखला लाग्दा प्रयोग गर्ने औषधिसमेत स्वास्थ्य चौकीमा नपाएको गुनासो आएपछि स्वास्थ्य संस्थामा पुग्दा १ महिनादेखि नौ प्रकारका औषधि सकिएको र गाउँपालिकामा माग फरम भरेर समेत पठाएको राम्चे स्वास्थ्य संस्थाकी अनमी अम्बिका दुवाडीले इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडालाई जानकारी गराइन् ।

"सकिएको औषधि समयमा आउँदैन अलिअलि स्टक छँदैमा औषधि माग गरेपनि २ महिनासम्म औषधि आउँदैन ।"-उनेले भनिन् ।

कालिका गाउँपालिका राम्चेका ३१ वर्षीय दावा तामाङले औषधि नपाएपछि स्वास्थ्य सेवा लिन दिनभर लगाएर कालिकास्थान र नुवाकोटका निजी क्लिनिकसम्म पुग्नु पर्ने बाध्यता रहेकोले नागरिकलाई स्वास्थ्य सेवा लिन सुविधा नभएको गुनासो गरे ।

कालिका गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण पौडेलले बजेट सकिएकोले टेण्डर गरेर औषधि खरिद गरी स्वास्थ्य संस्थाहरूमा चाँडै औषधि पठाइने बताए ।


हेमनाथ खतिवडा