औषधिको अभाव भएपछि आँखा पाक्ने रोग जिल्लाभर

हुम्ला जिल्लाभर नै औषधिको अभाव भएपछि बालबालिकाहरूमा आँखा पाक्ने रोग फैलिँदै आएको छ । मौसम परिवर्तनसँगै अहिले हुम्लाका सातै ओटा गाउँपालिकामा आँखा चिलाउने, रातो हुने, बिजाउने, पछि आँखा पाक्ने लक्षण देखिने रोगबाट बालबालिका बिरामी पर्न थालेको खार्पुनाथ गाउँपालिका-४ की जौकला टमटाले बताइन् ।

Photo20170709Humla

अहिले प्रत्येक वडामा १० देखि १५ जना बालबालिका आँखा पाक्ने रोगका कारण थला परेको स्थानीयबासीले बताएका छन् । आँखा पाक्ने रोगले आफ्नी छोरी महिनौँ दिनदेखि उपचारका लागि स्वास्थ्य चौकीमा गएर चेक गराए पनि औषधि नपाएको टमटाले गुनासो गरिन् ।

'आफै बिरामी भएर उपचार गर्न गएको थिएँ । चेकजाँच भएपनि सिटामोलसमेत पाइएन ।'-बलजिते टमटाले बताए । सरकारले निःशुल्क दिने भनेको औषधिसमेत कहिल्यै पनि स्वाथ्य चौकीमा आफूले नपाएको उनको आरोप छ ।

Photo20170709Humla1

छोरालाई लामो समयदेखि आँखा पाक्ने रोग लागेको उपचारको लागि स्वास्थ्य चौकीमा गएपनि औषधि नपाएपछि निराश हुँदै घर फर्केको उनले बताए । मेडिकलमा औषधि किन्ने पैसासमेत नुहुँदा खाली हात फर्कनु परेको उनको गुनासो छ ।

अहिले हुम्ला जिल्लाभरिका अधिकांश स्वाथ्य चौकीमा औषधि नहुँदा गाउँमा आँखा पाक्ने, ज्वरो आउने, झाडापखाल जस्ता रोगका बिरामी उपचारमा समस्या आएको छ । सदरमुकाम सिमकोटदेखि ७ कोस टाढा रहेको छिप्रा गाउँको माझ गाउँमा रहेको स्वाथ्य चौकीमा औषधि नहुँदा मौसमी बिरामीहरूलाई उपचार गर्नमा समस्या आएको छिप्रा स्वास्थय चौकीका अहेब कालीबहादुर शाहीले बताए । मौसम परिवर्तनसँगै अहिले गाउँमा आँखा पाक्ने रोगदेखि लिएर झाडा पखाला, निमोनिया, ज्वरोलगायतका बिरामीको सङ्ख्या वृद्धि भएको अहेब शाहीले बताए ।

जिल्ला स्वास्थय कार्यालय हुम्लामा पर्याप्त मात्र औषधि भएतापनि गाउँमा रहेका स्वाथ्य चौकीहरूमा औषधि पुर्‍याउने सकेको छैन । पटकपटक जिल्ला स्वास्थ्य कार्यालयमा औषधिको माग गरेता पनि पर्याप्त मात्रमा औषधि नपाउनुमा अहिले मौसमी बिरामीहरूलाई उपचार गर्न समस्या भएको छिप्रा स्वास्थ्य चौकीका अहेब शाहीले बताए ।

शाहीले हुम्लाका २७ ओटै स्वाथ्य चौकीका लागि जिल्लाले अहिलेसम्म औषधि पुर्‍याउन नसेकेको बताए । गाउँमा भएका स्वास्थ्य चौकीमा रहेका स्वाथ्यकर्मीले बिरामीलाई चेकजाँच गरी नजिकको मेडिकल र जिल्ला स्वास्थ्य कार्यलयमा पुर्जी लेखी 'रिफर' गर्ने काम मात्र भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयमा औषधि भएता पनि गाउँमा रहेका स्वास्थय चौकीले औषधि लिन नआएकोले समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यलय हुम्लाले दावी गरेको छ ।

मागको आधारमा औषधि आपूर्ति गर्ने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख स्मृति महतले बताइन् । अहिले जिल्लाको जनस्वास्थ्य कार्यलयमा औषधि स्टक रहेकोले स्वास्थ्य चौकीहरूले मागेको औषधि पठाइसकेको बताउँदै महतले माग आएमा तत्काल औषधि दिने बताइन् ।


नन्द सिंह