औषधिको अभावमा कारागारका बन्दीहरू समस्यामा

  ०८१ साउन ३० गते

चौतारा सागाचोकगढी नपा-५ मा रहेको चौतारा कारागारमा रहेका कैदी बन्दीहरू औषधिको अभावले समस्यामा परेका छन् ।

अहिले बजेट निकासा नभएकाले औषधि खरिदमा प्रभाव परेको चौतारा कारागारका स्वास्थ्यकर्मी निरजराम दमाइले बताउनु भयो ।

चौतारा कारागारभित्र नियमित औषधि सेवन गर्ने ६० वर्ष उमेर समूहभन्दा माथिक १७ जना ब्यक्ति रहेको कारागारका स्वास्थ्य कर्मी निरजरामले बताउनु भयो । उच्च रक्तचाप, दम, खोकी, पायल्स, टिभी जस्ता रोग लागेर नियमित औषधि सेवन गर्ने कैदीबन्दीलाई समेत औषधिको अभाव हुन लागेको स्वास्थ्यकर्मी दमाइको भनाइ छ ।

औषधि खरिदको लागि अघिल्लो आर्थिक वर्षको बजेट अपुग भएको र यस वर्षको बजेट निकासामा ढिलाइ भएकाले हाल केही समस्या भएको जिल्ला कारागारका निमित्त जेलर मानबहादुर बिकले बताउनु भयो ।

अघिल्लो वर्षमा १ लाख ५० हजार रुपियाँ बजेट औषधि खरिदका लागि छुट्याइएको थियो । यस आर्थिक वर्षमा थप बजेट सहित माग भएको छ तर बजेट निकाशा नभएको जेलर बिकले बताउनु भयो ।

चौतारा कारागारमा हाल भएको भवन नौ जना महिला राख्न निर्माण भएको थियो । तर, यो भवनमा अहिले ९६ जना बन्दीसहित १ सय ४२ जना पुरुष राखिएको छ । महिला भने यस कारागारमा राखिँदैन । महिला बन्दी तथा थुनुवा अन्य जिल्लामा पठाउने गरेको जिल्ला कारागार कार्यालयका सूचना अधिकारी गौरव श्रेष्ठले बताउनु भयो ।

साँघुरो ठाउँ, कैदी बन्दीहरूको सङ्ख्या धेरै, त्यसैले पनि समयसमयमा विभिन्न रोगको प्रकोपको खतरा भएको कारागारका स्वास्थ्यकर्मी निरजराम दमाईको भनाइ छ । चौतारा जेलभित्र रहेका बन्दीको स्वास्थ्यमा सुधार ल्याउन प्रयास गर्दा पनि बेलाबखत औषधिको समस्या भएको उहाँको भनाइ छ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चिता गरिएको भए पनि चौतारा कारागारमा औषधिको अभाव हुँदा कैदीबन्दीहरू समस्यामा परेका छन् ।


नातिबावु धिताल