एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

बेनिघाट रोराङ गाउँपालिका-३, रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र कात्राकका ६३ वर्षीय डम्बर बहादुर पुलामीलाई ०८० असोज २ गते एसिड प्रहार गरेको आरोपमा गजुरी गाउँपालिका-२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ ।

भद्रकाली सुनचाँदी पसलमा पीडितहरूले मादक पदार्थ सेवन गरी विवाद गर्दा पसलका सञ्चालक विकले पसलमा रहेको एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । उक्त एसिड प्रहारबाट पुलामीको अनुहार र शरीर जलेको छ भने खत्रीको शरीर जलेको छ ।

पीडित पक्षले असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी जैसवारले बताउनु भयो । पीडितहरूको उपचार मलेखु टिचिङ अस्पतालमा भइरहेको छ ।


सीताराम अधिकारी