एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद

  ०७९ चैत ९ गते

जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष कैद र ६ लाख जरिवाना गर्ने गरि चैत ८ गते उच्च अदालत जनकपुरले फैसला गरेको छ । उच्च अदालत जनकपुरको चार नम्बर इजलासका न्यायाधीशद्वय डालकुमार खड्का र सागर बिष्टको इजलासबाट यस्तो फैसला गरेको हो ।
एसिड प्रहार गर्ने आरतीका पति सञ्जीवलाई जिल्ला अदालत धनुषाले ०७९ साल साउन २५ गते दोषी ठहर गरी साढे १० वर्ष कैद र ६ लाख जरिवानाको सजाय निर्धारण गरेको थियो । सञ्जीवे जिल्लाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकोमा उच्च अदालत जनकपुरले सोही निर्णयलाई सदर गर्दै फैसला गरेको एसीड पीडित आरती शाहकी अधिवक्ता रिंकु कुमारी यादवले बताउनुभयो ।
पीडितको तर्फबाट अधिवक्ता रिंकु कुमारी यादव र अधिवक्ता अच्युतम आचार्यले बहस गर्नुभएको थियो भने विपक्षीको तर्फबाट अधिवक्ता अरुणकुमार यादवले बहस गर्नुभएको थियो ।


दिपेन्द्र प्रसाद सिंह