एम्बुलेन्स सेवा सूचारू नहुँदा बिरामीलाई सास्ती

  ०७६ साउन १९ गते

जयपृथ्वी नगरपालिका–१ कैलाशका स्थानीयको एम्बुलेन्स सेवामा पहुँच नभएका कारण सास्ती भोग्नु परेको छ ।

 

कैलाश गाउँमा पुग्ने मोटरबाटो दुई वर्ष अगाडि निर्माण भएको र बिरामीहरूलाई सहज होस भन्नको लागि भारत सरकारले उपहार स्वारूप दिएको एम्बुलेस सेती नदीमा पुल नभएका कारण प्रयोगविहीन हुँदै आएकाले स्थानीयले सास्ती भोग्नु परेको हो ।

 

साउन १० गते राति जयपृथ्वी नगरपालिका–१ कैलाशकी कल्सरा सिंह बिरामी भएपछि उनलाई डोकोमा बोकेर सदरमुकाम चैनपुर पुर्‍याउनु परेको परिवारले दुःखेसो पोखे ।

 

यसरी डोकोमा बोकिएर अस्पताल पुग्ने कल्सरा कैलाशकी एक्ली बिरामी भने हैनन् । यहाँका बिरामीलाई यसरी नै बोकेर अस्पताल पुर्‍याउनु पर्ने बाध्यता छ । यहाँ रहेको स्वास्थ्य चौकीसँग पनि आफ्नै एम्बुलेन्स छ ।

 

‘एम्बुलेन्स छ भनेर के गर्नु ?’–कैलाशका पुस्कल सिंहले भने–‘कोही बिरामी भयो भने स्ट्रेचर र डोको नभई हुँदैन । बोक्ने मान्छे खोज्दा खोज्दै बिरामी तलमाथि होला भन्ने पिर !’

 

०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरी ०७२ सालमा ठेक्का सम्झौता भएको सेती नदीको पानकोटमा पर्ने पक्की पुल चार वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

 

सेतीपारी रहेका जिल्लाको करिब आधा भूभागलाई सडक सञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षौँअघि निर्माण सम्पन्न भएका सडकहरूसमेत बेकामे भएका छन् ।

 

सेती नदी पारी रहेका जिल्लाका साविकका २१ गाविस (हाल ६ ओटा स्थानीय तह) लाई सडक सञ्जालसँग जोड्ने यो पुलको ठेक्का ०७२ साल वैशाखमा भएको थियो ।

 

तत्कालिन जिल्ला विकास समितिको ६ करोड ७८ लाख रुपियाँको लागतमा ठेकेदार कम्पनी निलगिरी निमार्ण सेवा र जागृती निमार्ण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मेवारी पाए पनि विभिन्न समस्या देखाइ तोकिएको समयमा काम सम्पन्न हुन सकेन ।

 

हाल सडक विभागले यो पुल निर्माणको लागि पुनः बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गर्ने प्रक्रियामा रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।


रमेश केसी