एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट

  ०८१ भदौ ९ गते

Mahinarayan Yadav
हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि कुटपिट गरेको छ ।Ambulance

एम्बुलेन्स तोडफोड र चालकमाथि कुटपिट गरेका दोषीमाथि कारबाहीको लागि पहल गर्न माँग गर्दै संयुक्त एम्बुलेन्स चालक संघ सप्तरीले भदौ ७ गते इन्सेक सप्तरी प्रतिनिधिसमक्ष निवेदन दिनुभएको छ ।

संयुक्त एम्बुलेन्स चालक संघ सप्तरीका अध्यक्ष सुदिलाल साहले बन्दकर्ताबाट एम्बुलेन्स तोडफोडका सार्थै चालक राजविराज नगरपालिका-२ का ४२ वर्षीय महिनारायण यादवलाई कुटपिट गर्ने दोषीहरूमाथि कारबाहीका लागि पहल गर्न इन्सेक सप्तरी प्रतिनिधिसमक्ष निवेदन दिनुभएको हो । तोडफोडबाट एम्बुलेन्सको अगाडिको भागमा क्षति पुगेको र चालक यादव घाइते भएको साहले बताउनु भयो ।

डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढाकी गर्भवती महिलालाई बोकेर सुनसरीको धरानतर्फ लैजाँदै गर्दा हनुमाननगरमा बन्दकर्ताले एम्बुलेन्स तोडफोड गर्दै कुटपिट गरेको अर्का चालक जवाहिर मन्सुरीले बताउनु भयो । घाइते चालक यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ ।

घटनाको विरोधमा एम्बुलेन्स चालकहरूले राजविराजस्थित स्वास्थ्य कार्यालय अगाडि सडकमा भदौ ७ गते टायर बाली एम्बुलेन्स रोकेर सडक अवरुद्ध गरेका थिए ।

हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनिया मुसहरीस्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को.१ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा को ३० प ८१०९ नम्बरको मोटरसाइकल चालक हनुमाननगर कंकालिनी नगरपालिका-५ का १९ वर्षीय प्रशान्त मण्डलको मृत्यु भएको थियो । मण्डलको मृत्यु भएपछि भदौ ७ गते मृतकका आफन्त र स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । किशोरको मृत्युपछि सरजमिन मुचुल्का नगरी प्रहरीले हतार गरेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याएको भन्दै मृतकका आफन्त र स्थानीयले विरोध प्रदर्शनसहित सडक अवरुद्ध गरेका थिए ।

सोही क्रममा स्थानीयहरूले हनुमाननगर बजार बन्द गराउँदै सडक अवरुद्ध गरेकोमा केही बन्दकर्ताले एम्बुलेन्स तोडफोड गर्दै चालकमाथि कुटपिट गरेका थिए ।

 Pradashan


मनोहरकुमार पोखरेल